Main

काभ्रेमा बाढीपहिरोले कृषि क्षेत्रमा मात्रै झन्डै एक अर्बको क्षति

१३ कात्तिक, काभ्रे ।  असोज १२ गते आएको बाढीपहिरोले काभ्रेमा कृषि क्षेत्रमा मात्रै झन्डै एक अर्ब बराबरको क्षति भएको छ ।

कृषि विकास कार्यालय र पशु सेवा कार्यालय काभ्रेको तथ्यांकअनुसार ९० करोड २७ लाख ८१ हजार बराबरको क्षति भएको छ ।

खाद्यान्न तथा तरकारी बालीमा मात्रै ५६ करोड ६१ लाख र पशुपालनतर्फ ३३ करोड ६६ लाख ८१ हजार बराबरको क्षति पुगेको छ कार्यालयहरूको तथ्यांकमा उल्लेख छ ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीको संयोजकत्वमा बनेको समितिले संकलन गरी तयार पारेको विवरण अनुसार काभ्रेका १३ पालिकामा ५६ करोड ६१ लाख बराबरको बाली नोक्सान भएको हो ।

कृषि विकास कार्यालयका अनुसार सबैभन्दा धेरै तरकारी बालीमा ४५ करोड दुई लाखको क्षति भएको छ । धान बालीमा ७ करोड ३८ लाख र मकै बालीमा तीन करोड ४३ लाख बढीको क्षति भएको छ ।

विवरण अनुसार १३ पालिकाको एक हजार ७८४ हेक्टर क्षेत्रफलमा लगाइएको ८ हजार ९८६ मेट्रिकटन धान, मकै, तरकारीलगायत क्षति भएको छ ।

पालिकाअनुसार धुलिखेल नगरपालिकामा २३५ हेक्टरमा लगाइएको एक हजार ३९४ मेट्रिकटन धान, मकै तरकारीलगायतका कृषि बालीमा क्षति भएको छ । जुन ९६ लाख ५० हजार मूल्यांकन गरिएको छ ।

बनेपा नगरपालिकाको १०१ हेक्टरमा लगाइएको ९१२ मेट्रिकटन धान, मकै तरकारी गरी ७५ लाख १० हजार, पनौतीमा २४० हेक्टरमा लगाइएको १३८७ मेट्रिकटन नष्ट भएको छ ।

पाँचखालमा १९८ हेक्टरमा लगाइएको धान र तरकारीमा क्षति पुगेको छ । नमोबुद्ध नगरपालिकामा १२७ हेक्टरमा लगाइएको खेतीमा क्षति भएको छ ।

मण्डन देउपुरमा ४४ हेक्टर, खानीखोलामा ७८ हेक्टर, चौरीदेउरालीमा ८५ हेक्टर, तेमालमा ४४ हेक्टर, बेथानमा १७ हेक्टर, भुम्लुमा १५ हेक्टर, महाभारतमा ५७ हेक्टर र रोशीमा १३८ हेक्टर जमिनमा लगाइएको धान मकै तथा तरकारी खेतीमा क्षति पुगेको छ ।

यस्तै, पशु सेवा कार्यालयका अनुसार २ हजार ६६३ पशु, १५ हजार ४०० ९५ पंक्षी, ३२ लाख लिटर दूध गरी ३३ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

पशु सेवा कार्यालयका निसान्त शर्मा गेलालले दिएका जानकारी अनुसार सबैभन्दा धेरै २४ करोड बराबरको दूध क्षति भएको छ ।

त्यसपछि २ करोड पाँच लाखका दुहुना गाई, तीन करोड ९३ लाखका भैंसी, एक करोड ५४ लाख ९५ हजारका कुखुरा र हाँस, एक करोड ५० लाख १५ हजारका बोका/बाख्राको क्षति भएको छ । अन्य क्षति गोरु, बाच्छाबाच्छी, राँगो, पाडापाडी, बंगुरमा भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button