मेरो माइक्रोफाइनान्सको निष्क्रिय कर्जा बढ्यो, नाफा घट्यो

१९ माघ, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको निष्क्रिय कर्जा उच्च दरले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ७.८७ प्रतिशत पुगेको हो । गत वर्षको यसै अवधिमा यस्तो निष्क्रिय कर्जा ४.९६ प्रतिशत मात्रै थियो । कम्पनीले कुल १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको खुद नाफा भने संकुचन भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा अहिले ६ करोड ४३ लाखमा खुम्चिएको छ । कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ९७ लाख रुपैयाँ छ । कम्पनीले ५ करोड २ लाख रुपैयाँ लोनलस प्रोभिजन गरेको छ । कुल निष्क्रिय कर्जामा लोनलस प्रोभिजन जम्मा ३६ प्रतिशत हो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७४ पैसा छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ २२ पैसा छ । आधार दर १४.५८ प्रतिशत छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५० रुपैयाँ ९० पैसा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।