कतारले भन्यो : दोहामा हमासको कार्यालयले काम गरिरहन्छ
५ मंसिर, काठमाडौं । कतारले इजरायल र हमासबीचको वार्ताबाट पछि हट्नुको कारण स्पष्ट पारेको छ ।
इजरायल र हमासबीचको शान्ति सम्झौताका लागि मध्यस्थताबाट पछि हटेपछि कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्तामा संलग्न पक्ष गम्भीर नभएको उल्लेख गरेको छ ।
कतारी विदेश मन्त्रालयको प्रवक्ताले वार्ता मध्यस्थताको भूमिकाबाट पछि हट्नुको अर्थ दोहामा रहेको हमासको कार्यालय बन्द गरिंदैछ भन्ने नभएको स्पष्ट पारेका छन् ।
युद्ध अन्त्यको प्रस्ताव हमासले नमानेको कारण देखाउँदै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको जनाएपछि कतारको यो प्रतिक्रिया आएको हो ।
बीबीसीका अनुसार साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता डा. अल अन्सारीले दोहामा हमासको कार्यालयले काम गरिरहने कुरामा जोड दिएका छन् ।
उनले वार्ता पुनः सुरु गर्ने अर्को निर्णय नभएसम्म तत्कालका लागि वार्ता स्थगित भएको जानकारी दिए । पुनः वार्ता सुरु गर्न वार्तामा संलग्न पक्षहरू गम्भीर छन् भन्ने कतारलाई अनुभूति हुनुपर्ने र त्यस्तो अवस्थामा कतारले एक कदम अगाडि बढेर भूमिका खेल्ने उनले बताए ।
मध्यपूर्वमा शान्ति स्थापनाकर्ताको रूपमा प्रस्तुत गरेको कतारले इजरायल र हमासबीच जारी द्वन्द्वमा युद्धविराम गराउन नसकेपछि गत हप्ता मध्यस्थता गर्ने भूमिकाबाट पछि हटेको थियो।
कतारको यो निर्णयसँगै इजरायल-हमास द्वन्द्वको शान्तिपूर्ण निकास थप अनिश्चित बनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।