करण र आरिफको अलराउन्ड प्रदर्शनमा पुलिसको लगातार आठौं जित

१७ माघ, काठमाडौं । तीव्र गतिका बलर करण केसी र आरिफ शेखको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १०३ रनले हराएको छ । पुलिसले लगातार आठौं जित हात पार्दै अपराजित यात्रा कायमै राखेको छ ।
जितको लागि २४६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १४२ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले ४६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।
नर सार्की ४१ बलमा ३ चौका र २ छक्कासहित ३१, सुशान्त थापा १४, विराट भण्डारी १६ र प्रज्ज्वल थापा १२ रनमा आउट भए । पुलिसका कुशल भुर्तेलले ६ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । करन केसीले ५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए ।
ललित राजवंशी, सागर ढकाल, राशिद खान, आरिफ शेख र रोशन बुढालले १–१ विकेट लिए ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पुलिस क्लब ३७.३ ओभरमा २४५ रनमा अल आउट भएको थियो ।
पुलिसको जितमा कार्यबाहक कप्तान आरिफ शेखले ७६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदा आरिफले टोलीको कप्तानी गरेका थिए ।
करण केसीले २७ बलमा ५ चौका र ५ छक्कासहित ५७ रनको विष्फोटक इनिङ खेलेका थिए । कुशल भुर्तेल ४२ बलमा ७ चौका र १ छक्कासहित ४८, दीलिप नाथ २, अर्जुन साउद २४, शंकर राना शून्य, राशिद खान १२ र रोशन बुढाल १० रनमा आउट भए ।
लुम्बिनीका नर सार्कीले ८ ओभरमा ७७ रन खर्चेर ४ विकेट लिए । वीर मगरले ७.३ ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले १–१ विकेट लिए ।
पुलिसले अन्तिम खेल बिहीबार सुदूरपश्चिमसँग खेल्नेछ । पुलिसले कोसँग फाइनल खेल्ने त्यो भने पक्का भएको छैन ।
पुलिस ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । बिहीबार आर्मीले गण्डकीलाई हराएको खण्डमा फाइनल खेल्नेछ । यदि आर्मी पराजित भएको खण्डमा भने बागमतीसँग नेटरनरेटमा निर्भर पर्नेछ ।
बागमती ९ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ । आर्मीको नेटरनरेट १.८९८ र बागमतीको १.११७ छ । उता लुम्बिनी ८ खेलमा ७ मा हार र १ मा जितसहित २ अंकका साथ नवौं स्थानमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।