Main

भारतीय चुनाव परिणाम असर : अडानी ग्रुपले सेयर बजारमा गुमायो ३६ खर्ब भारु

२३ जेठ, एजेन्सी । भारतमा भएको लोकसभा चुनावको प्रक्षेपणसँग वास्तविक परिणाम मेल नखाएपछि व्यावसायिक घराना अडानी ग्रुपले सेयर बजारमा ठूलो क्षति बेहोरेको छ ।

अडानी ग्रुपका १० वटै कम्पनीको भाउमा मंगलबार भारी गिरावट आएको छ । एकै दिन अडानी ग्रुपका १० कम्पनीको बजार पूँजीकरण ३६ खर्ब ४० अर्ब भारु घटेको छ ।

अडानी ग्रुप प्रमुख गौतम अडानी प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । सोमबारसम्म धेरैजसो भारतीय सञ्चारमाध्यमले लोकसभामा मोदी गठबन्धनको ४ सय सिट कट्ने प्रक्षेपण गरेका थिए । जसले गर्दा अडानी समूहका १० कम्पनीको भाउ पनि उच्च दरले बढेको थियो ।

तर, मंगलबारदेखि आएको परिणाम भने फरक देखियो । जसले मंगलबार अडानी ग्रुपका १० वटै कम्पनी अडानी पोर्ट्स, इनर्जी सोलुसन्स, अडानी इन्टरप्राइजेज, ग्रिन इनर्जी, टोटल ग्यास, एनडीटीभी, अडानी पावर, अम्बुजा सिमेन्ट, एसीसी र विल्मरको कुल मूल्य उक्त परिमाणले घटेको भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सले जनाएको छ ।

मंगलबार अडानी पोर्ट्स २१.२६, अडानी इनर्जी सोलुसन्स २०, इन्टरप्राइजेज १९.३५, ग्रिन इनर्जी १९.२०, टोटल ग्यास १८.८८, एनडीटीभी १८.५२, अडानी पावर १७.२७ तथा अम्बुजा सिमेन्टको १६.८८ प्रतिशतले घट्यो ।

त्यसैगरी एसीसी १४.७१ र अडानी विल्मरको ९.९८ प्रतिशतले मूल्य घट्यो । १० कम्पनीमध्ये आठ कम्पनी कारोबार क्रममा तल्लो सर्किट लेभलमा पुगेका थिए ।

सोमबार बजार बन्द हुँदा यी १० कम्पनीको बजार पूँजीकरण १९ लाख ४२ हजार ७ सय १२ करोेड थियो । तर, मंगलबार ३ लाख ६४ हजार ३ सय ६६ करोड घटेर १५ लाख ७८ हजार ३ सय ४६ करोडमा रह्यो । सोमबार अडानी ग्रुपका कम्पनीको मूल्य हिन्डनबर्गको अनुसन्धान रिपोर्ट आउनु अघिकै हाराहारीमा पुगिसकेका थिए ।

बुधबार भने यी कम्पनीको मूल्यमा केही सुधार आएको छ । औसतमा अडानी ग्रुपका १० कम्पनीको बजार पूँजीकरण बुधबार ६ प्रतिशतले बढेको छ ।

बुधबार भारतीय सेयर बजार बीएसई सेन्सेक्स पनि ३.२० प्रतिशत बढेको छ । मंगलबार यो सेन्सेक्स ५.२७ प्रतिशत घटेको थियो । बुधबार बजार बन्द हुँदा बीएसई सेन्सेक्स ७४ हजार ३ सय ८२ अंकमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button