सिंगटी हाइड्रोको १ करोड १६ लाख कित्ता सेयरमा ‘लकइन’ सकियो

२७ चैत, काठमाडौं । सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिएको छ । लकइन अवधि सकिएसँगै आज मंगलबारदेखि कम्पनीको कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयर कारोबारका लागि बाटो खुलेको छ ।
आजदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ पछि लकइन अवधि सकिएको बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सूचनामार्फत जनाएको छ ।
यसैबीच कम्पनीले यसअघि हकप्रद निष्कासनमा बिक्री नभएको सेयर बिक्रीका लागि गरेको शिलबन्दी बोलपत्र आवेदन आज मंगलबार खोल्ने भएको छ । कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता साधारण सेयर लिलामी बिक्री गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।