गण्डकीका मन्त्री थापाले गरे १०० दिनको उपलब्धी सार्वजनिक, स्वास्थ्य क्षेत्र सुधारिएको दाबी

२३ भदौ, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । १६ जेठमा मन्त्री नियुक्त भएका थापाको १८ भदौमा १०० दिन पूरा भएको हो ।
६८ बुँदामा काम सार्वजनिक गरेका उनले शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुद, स्वास्थ्य र संस्कृतिका क्षेत्रमा आफूले सुधार अभियानै थालेको बताए ।
क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले बिरामीलाई थप १ लाख रुपैयाँ बराबरको उपचार गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए ।
बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बनाइएको उनको भनाइ थियो । यसअघि अधिकांश जिल्लामा ओपिडी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म थियो ।
गर्भवतीलाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान सञ्चालनमा ल्याइएको थापाले बताए ।
क्षयरोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालनमा गरिएको उनले बताए । यो कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरेर नागरिकको मुख्य यी रोगका समस्या पहिचान गरिने उनको भनाइ छ ।
गण्डकी प्रदेश मातहतका जिल्ला र प्रदेशस्तरीय गरी १४ वटा अस्प्तालमध्ये मध्यविन्दु जिल्ला अस्पतालमा मुटु रोग सम्बन्धी इको सेवाको सुरुवात गरिएको उनले बताए ।
अस्पताललाई २५ बाट ५० बेडको बनाउन मन्त्रिपरिषदबाट निर्णय गरी नेपाल सरकारलाई अनुरोधसमेत गरिएको छ । अहिले प्रदेश मातहत २५ बेडको अस्पताललाई ५० बेडको बनाउने र मनाङ, मस्ताङमा १५ बाट ५० बनाउने निर्णय गरेर प्रक्रिया अगाडि बढेको मन्त्री थापाले बताए ।
मन्त्री थापा आइसकेपछि प्रदेश सरकार मातहतका अस्पतालहरुमा डायलायसिस सेवा लिइराखेका बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट थप गरी सेवा प्रदान गरिएको थापाले प्रमुख उपलब्धीकै रुपमा सार्वजनिक गरेका छन् ।
डायलायसिस सेवा लिने प्रतिक्षारत विरामीको संख्या बढी देखिने, दोहोरापना हुने समस्यालाई हटाउन रियल टाइम डाटा म्यानेजमेन्ट प्रविधि सुरुआत भएको थापाले बताए । यो प्रविधिबाट गण्डकी प्रदेशभरिका निजी तथा सरकारी अस्पतालमा डायलायसिस गरेका विरामीको एकिन तथ्यांकलाईसमेत देखाउने मन्त्रालयले जनाएको छ ।
मन्त्री थापाले जनताले प्रत्यक्ष महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रलाई सुधारको अभियानै सुरु गरिएको र स्वास्थ्य क्षेत्रलाईमात्रै व्यवस्थित गर्न सकियो भने प्रदेशको औचित्य पनि पुष्टि गर्न सकिने मन्त्री थापाको भनाइ थियो ।
अहिले थापाले सम्हालिरहेको मन्त्रालयबाट फुटाएर स्वास्थ्य मन्त्रालय एमालेका कृष्ण पाठकलाई जिम्मेवारी दिइएको छ । मन्त्री थापाले एउटै क्याबिनेटमा भएकाले भोलि पनि यो क्षेत्र सुधारका लागि आफूले मन्त्री पाठकसँग समन्वय गर्ने बताए ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको पनि थापाले उपलब्धीका रुपमा सार्वजनिक गरे । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने काम भएको उनले बताए । व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सीपमूलक क्षेत्रको पहिचान गरि स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए ।
गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएको पनि थापाको दाबी छ । खेलाडी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढेको थापाले बताए ।
औद्योगिक क्षेत्रका पेशागत जनशक्तिलाई अबदेखि गण्डकी प्रदेशले सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गर्दै प्रमाणीकरण गर्ने भएको छ ।
त्यसका लागि ४ वटा क्षेत्रको पहिचानसमेत गरिसकेको छ । सत्कार तथा आथित्यता, अटोमोबाइल, निर्माण तथा इन्जिनियरिङ र कृषि क्षेत्रका जनशक्तिलाई प्रमाणीकरण गरी रोजगारीमा सहजता प्रदान गर्ने कामको थालनी भएको थापाले एक नम्बर उपलब्धीमै सार्वजनिक गरेका छन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा स्याङ्जा फेदीखोलामा गण्डकी प्राविधिक शिक्षलय निर्माण गर्न १ सय ४० करोडको सम्झौता तयारी भएको छ । त्यसको लागि प्रशासनिक र कर्मचारी आवास निर्माण तथा सञ्चालन सहयोगका लागि आह्वान भइसकेको उनले बताए ।
सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशिल बनाउन काम गरिएको उनले बताए ।मन्त्री थापाले सय दिनको उपलब्धी सार्वजनिक गर्दै थापाले सामाजिक मन्त्रालय जनताका जीवनसँग प्रत्यक्ष जोडिने मन्त्रालय भएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।