Main

कर्णाली याक्सको जर्सी सार्वजनिक

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली कर्णाली याक्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।

नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काको समेत उपस्थितिमा टिमका मार्की प्लेयर सोमपाल कामी, मुख्य प्रशिक्षक तथा टिम डिरेक्टर ज्ञानेन्द मल्ल, फेस अफ दि कर्णाली याक्स स्वस्तिमा खड्काले संयुक्त रुपाा जर्सी सार्वजनिक गरेका थिए ।

जर्सीमा कर्णालीको प्रतिनिधित्व गर्ने हिमाल र संस्कृति समेटिएको छ भने याकको सांकेतिक तस्वीर पनि छ । निलो रङको जर्सीमा पहेँलो रङ मिलाएर जर्सी तयार पारिएको छ । कार्यक्रममा मार्की खेलाडी सोमपाललाई उनले लगाउने १० नम्बर जर्सी पनि प्रदान गरिएको थियो ।

मार्की खेलाडी सोमपालले आफूले खेल्न सुरु गर्दा यो लेभलमा लिग हुन्छ भनेर सपना देखेको र अहिले आएर पूरा हुन लागेको देख्दा खुशी लागेको बताए । सोमपालले कर्णाली याक्स टिम सन्तुलित रहेको र राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा लिग खेल्न आफू उत्साहित रहेको पनि बताए ।

‘आजको दिन एकदम उत्साहित छु । यही दिनको लागि क्रिकेट सुरु गरेका थियौं’ उनले भने, ‘२ हजार रकमबाट क्रिकेट सुरु गरेका थियौं । मिस्टर परफेक्ट ज्ञानेन्द्र दाई, देव खनाल पनि टिममा छन् । सोचेको जस्तै राम्रो प्रदर्शन गर्छौं ।’

सोमपालले एनपीएले विगतको भन्दा ठूलो लिग हुन लागेको र यसबाट नयाँ खेलाडीहरु पनि आउने अपेक्षा व्यक्त गरे । यस्तै कर्णाली याक्स टिम सन्तुलित रहेको र लिगमा राम्रो प्रदर्शन गर्ने बताए ।

नेता पूर्णबहादुर खड्काले आफू युवा तथा खेलकुद संस्कृति मन्त्री हुँदा २६ वर्षअघि टीयू मैदानमा जिटिभीले प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै अहिले एनपीएल सम्म आइपुग्दा नेपाल क्रिकेटको विकास भएको बताए ।

‘कर्णालीको सफलताको लागि शुभकामना, जीवनकालमा क्रिकेटको प्रसङ्ग याद आयो । २६ वर्ष अघि कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय मैदान बनेको थियो, जय शाह अध्यक्ष र विनय राज पाण्डे क्यान सचिव थिए । म त्यसबेला युवा तथा खेलकुद संस्कृति मन्त्री थिएँ । हामीलाई १५ लाख दिन पनि कठिन अवस्था थियो । राज्यको तर्फबाट गर्न सकेनौं’, उनले भने, ‘क्रिकेटको भविष्य उज्ज्वल छ । हिमाल, धार्मिक स्थल, कर्णालीकै भूभाग मानसरोवर जान याक्स मार्फत् प्राप्त हुनेछ ।’

उनले क्यान सचिव पारस लगायतले मिलेर सरकार र व्यवसायिकसँग मिलेर क्रिकेटलाई राम्रो गराउन लाग्नु भएको भन्दै सबैको सबैको एकताबाट नेपली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा जित्न सक्ने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल नेपाली क्रिकेटमा सुरुवात रहेको र लिगलाई भविष्यमा काठमाडौं बाहिर पनि आयोजना गर्ने गरी योजना रहेको बताए ।

‘हरेक फ्रेन्चाइजले आफ्नो ब्रान्डलाई प्रोमोट गर्न प्रतिस्पर्धा बढेको छ । एनपीएल खेल मात्रै नभएर एउटा कचर हो । कर्णालीका सबै समर्थकले यो जर्सी लगाएको हेर्ने सपना छ । प्रतियोगिता सुरु भएर अन्त्य हुनुबेलासम्म मैदान बाहिर र मैदानभित्र धेरैको जित हुन्छ’ खड्काले भने, ‘आफ्नै ब्राण्डबाट नेपाली क्रिकटलाईलाई विश्वमा चिनाउन सक्छौं । प्रतियोगिता काठमाडौं नभएर होम एण्ड अवे गराउन चाहन्छौं । भविष्यमा दुई-तीन मैदानमा खेलहरू खेलाउन चाहन्छौं ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button