भक्तपुरमा चारदिने संघीय नमुना युवा संसद अभ्यास

२० असार, भक्तपुर । युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म सहभागी गराउन उत्प्रेरित गर्ने उद्देश्यले संघीय नमुना युवा संसद अभ्यास–२०८१ भक्तपुरमा जारी छ ।
राष्ट्रिय युवा परिषदको आयोजनामा चार दिनसम्म चल्ने अभ्यासमा स्थानीय तह, प्रदेश तह हुँदै देशभरवाट छानिएका १६ देखि ४० वर्ष उमेर समूहका ९० युवा सहभागी छन् ।
कृषि विकास तालिम केन्द्र बोडेमा बुधबारदेखि सुरु भएको कार्यक्रमको पहिलो दिन नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले ‘लोकतन्त्र र लोकतान्त्रिक संस्कृति’ विषयमा धारणा राखेका थिए । शर्माले युवाहरुले लोकतन्त्रलाई आचरण र जीवन पद्धतिका रुपमा अबलम्बन गर्नुपर्ने वताए । शर्माले भने, ‘लोकतन्त्र भनेको अधिकार हो र लोकतान्त्रिक संस्कृति भनेको उक्त अधिकार प्रयोग गर्दा निर्वाह गर्नुपर्ने कर्तव्य हो ।’
यसैगरी ‘युवा जीवन र मार्गदर्शन’ विषयमा राष्ट्रिय युवा परिषदका पूर्वकार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले सहजीकरण गरेका थिए । ढुङ्गेलले युवाहरुलाई उद्यमशीलतामा नजोडिकन सवलीकरण गर्न नसकिने बताए ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म सरिक गराउनुपर्नेमा जोड दिएका थिए ।
चार दिनसम्म चल्ने नमुना युवा संसद अभ्यासमा युवाहरुलाई मुलुकको संसदीय प्रणाली, कानुन निर्माण प्रक्रिया, लोकतान्त्रिक मूल्यवोध, संवैधानिक अन्तरवस्तु शासकीय प्रबन्ध र नेतृत्व विकासका विविध आयाममा प्रशिक्षण गराइने उपाध्यक्ष बस्नेतले जानकारी दिए ।
अभ्यासको अन्तिम दिन सभामुख देवराज घिमिरेले नमुना संसदको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।