माधव नेपालको टिप्पणीः जबजलाई हिजो दक्षप्रजापतिको टाउको भन्ने, आज समाप्त पार्न लाग्ने

२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) समाप्त पार्ने कामलाई ठीक भन्न नसकिने बताएका छन् ।
पार्टी उपाध्यक्ष डा.बेदुराम भुसालले लेखेको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ विमोचन कार्यक्रममा अध्यक्ष नेपालले जबजलाई नबुझ्नेहरुले त्यसको औचित्यमाथि बहस गरिररहेको बताए ।
‘केहीकेही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो । यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन्’ अध्यक्ष नेपालले भने, ‘जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेको छैन, यसको अन्तर्य बुझेको छैन । .. उसले यो पुरानो भयो, यसको सान्दर्भिकता सक्कियो भन्दछन् ।’
हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्नेहरु आज समाप्त पार्न लागिपरेको समेत उनले बताए । ‘हिजो पनि जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्ने । आज पनि यहाँ आएर यसलाई समाप्त पार्नका लागि लाग्ने त्यो विचारलाई किमार्थ ठिक भन्न सकिँदैन’, अध्यक्ष नेपालले भने ।
नेपालमा जबज अहिले पनि वामपन्थी पार्टीहरुको मार्गदर्शक सिद्धान्त भएको उनले बताए । ‘हाम्रो समाजवादी बहुदलीय प्रतिष्पर्धासहितको समाजवाद हुन्छ । र समाजवादको सिंगो चरणमा वर्गहरुको अस्तित्व रहन्छ’, अध्यक्ष नेपालले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।