Main

प्रचण्डले अहिलेको गठबन्धन टुटाए नयाँ ढंगले छलफल गर्न एमाले तयार

२१ फागुन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको बताएको छ ।

आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौं ।’

उनले सत्ता गठबन्धनमा संकट बढेको भन्दै केही नयाँ घटना विकास हुने देखिएको पनि बताए । राजनीतिक घटनाक्रम कसरी विकास हुन्छ भन्ने कुरा प्रधानमन्त्री प्रचण्डले लिने निर्णयमा भर पर्ने ज्ञवालीले बताए ।

पछिल्ला राजनीतिक घटनाक्रमको मूल्यांकन गर्न र एमालेले लिने नीतिको विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनमा संकट बढेको र प्रचण्ड नयाँ ढंगले अघि बढ्न खोजेको ब्रिफिङ गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button