नरेनको हिट गीतलाई रि-एरेन्ज गर्दै ‘फर्की फर्की’ले ल्यायो ‘अन्तिम माया’

काठमाडौं । नरेन लिम्बुले कम्पोज गरेको ७ वर्षअघिको चर्चित पपगीत ‘अन्तिम माया’ अहिले पनि समधुर लाग्छ । युवापुस्ताको ओठमा झुण्डिएको यो गीत नसुन्ने कमै होलान् ।
यो हिट गीतले यतिबेला नयाँ जीवन पाएको छ । जेठ १० मा प्रदर्शन तयारीमा रहेको अनमोल केसी स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’ले उक्त गीतलाई रि-एरेन्ज गर्दै शुक्रबार सार्वजनिक गरेको छ ।
लिम्बुकै कम्पोज, लेखन र गायनमा रि-एरेन्ज गरिएको यो गीत फिल्ममा समावेश छ । रि–एरेन्ज गरिएको यो गीतले हामीलाई ७ वर्षअघिको त्यो क्षणलाई स्मरण गराउँछ ।
कथावस्तुको महत्वपूर्ण प्लटको सन्दर्भमा यो गीत तयार पारिएको छ । दुई मुख्य पात्रको विछोडको मनोविज्ञानमा गीत समावेश गरिएको बुझ्न सकिन्छ । गीतले दर्शकलाई प्रेमिल भावनाको गहिराइमा लैजाने अपेक्षा गर्न सकिन्छ ।
गीत स्वयमले दर्शकलाई नोस्टाल्जिक बनाउने पक्का छ ।
भिडियोमा कलाकार अनमोल केसी, जसिता गुरुङ फिचर्ड छन् । नरेन र अनमोलबीच दोस्रोपटक सांगीतिक सहकार्य भएको हो । अनमोल स्टारर ९ वर्षअघिको फिल्म ‘जेरी’मा पनि नरेनकै हिट गीत ‘भन्न आउँदैन’लाई पुनः एरेन्ज गर्दै समावेश गरिएको थियो ।
यतिबेला पुनः नरेनकै हिट गीतलाई किन समावेश गर्न जरुरी थियो ? निर्माता रोहित अधिकारीले कथामा आवश्यक परेर यो गीतलाई रि–एरेन्जसहित समावेश गरिएको बताए । ‘कथासँग यो गीतको गहिरो सम्बन्ध छ । यो गीत सुन्दै भावनाको गहिराइमा पुग्न सक्नुहुन्छ’ अधिकारीले भने ।
सुयोग गुरुङ निर्देशित फेन्टासी ड्रामा ‘फर्की फर्की’ले यसअघि शीर्ष गीत सार्वजनिक गरिसकेको छ । यसले राम्रो प्रतिक्रिया बटुलिरहेको छ । ‘टाइम लुप’को कथावस्तुमा बनेको यो फिल्मलाई रोहित अधिकारी फिल्मसले निर्माण गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।