Main

कांग्रेसले प्रशिक्षण पाठ्यक्रम परिमार्जन गर्ने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेकाले परिमार्जन उपसमिति गठन गरिएको मुख्य सचिवकृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रशिक्षण पाठ्य सामग्री परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । कांग्रेसमा प्रशिक्षण सामग्री नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार गर्दै आएको छ ।

प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजकत्वमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

पार्टीले दिने सबै तहका प्रशिक्षण छरिएको रुपमा नभई एकरुपता ल्याउनका लागि पाठ्य सामग्री परिमार्जन गर्न लागिएको उपसमितिका सदस्य प्रताप पौडेलले जानकारी गराए ।

उपसमितिलाई २६ कात्तिकभित्र प्रतिवेदन प्रतिष्ठानका प्रमुखलाई पेश गर्न समयावधि दिइएको छ । प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button