Main

काठमाडौंमा सुनिए अमेरिकी डिजे वाल्सी फायर, भन्छन्- आफ्नो काममा रमाउन सिक

काठमाडौं । विश्वचर्चित अमेरिकी डिजे वाल्सी फायर यतिबेला नेपालमा छन् । डिप्लो र एप ड्रमजस्ता हस्ती समावेश सांगीतिक समूह ‘मेजर लेजर’का सदस्य समेत रहेका उनी मंगलबार संगीतमा भविष्य बनाउन चाहने नेपाली तन्नेरीमाझ सुनिए ।

एलओडी क्लबको सहकार्यमा अमेरिकी दूतावासले आयोजना गरेको संवाद श्रृंखला ‘खुलौं बोलौं’मा ४७ वर्षिय डिजे तथा रेकर्ड निर्माताले करिअर टिप्स दिए र आफ्नो संघर्षका दिन सम्झिए । उनले नेपाली सौन्दर्य, संस्कृति र मानिसको सरलताको प्रशंसा गरे ।

संगीतमा सफल हुने हो भने पैसाको पछि नलाग्न उनले सल्लाह दिए । ‘जुनसुकै अवसर र जहाँसुकै होस्, मैले कहिल्यै पनि पैसालाई पछ्याइन’ उनी दार्शनिक सुनिए, ‘पैसाको लागि काम नगर । त्यसले तिमीलाई खुशि दिन सक्दैन । आफ्नो काममा रमाऊ ।’

उनले आफ्नो पहिलो पारिश्रमिक ५० डलर भएको बताए । ‘दश वर्षको लगातार संघर्षमा मैले हार मानिन । मेरो पहिलो पारिश्रमिक ५० डलर थियो । मसँग मार्गनिर्देशक पनि थिएनन् । मैले जे गरे आफ्नै संघर्षमा गरेँ’ उनी सुनिए ।

मायामीको रेडियोमा जागिर पाएपछि भने भाग्य बदलिएको उनको अनुभव छ । ‘त्यो रेडियोमा मैले टक शो चलाएँ । त्यसपछि मलाई सबैले चिन्न थाले । म लोकप्रिय भएँ । अनि डिप्लोसँग सहकार्य गरेँ’ उनी सुनिए, ‘१० वर्ष मैले निष्ठापूर्वक जुनरुपमा संघर्ष गरेँ, किनभने म कामलाई माया गर्छु ।’

जीवनमा आउने परिस्थितीबाट विचलित नभै संगीतलाई प्रेम गर्न उनले सुझाए । ‘डिजेको अवकास योजना हुँदैन । यदि तिमी लड्यौ भने तिमीलाई हेरचाह गर्ने र साथ दिने कोही हुँदैन । जे गर्नुपर्छ, तिमीले आफै गर्नुपर्छ’ डिजेइङमा लाग्न चाहेकादेखि लागिरहेका नेपाली युवासामु उनले भने ।

जीवनमा आउने कठिनाइलाई सकारात्मकरुपमा लिन उनको आग्रह छ । ‘यदि तिमी समस्याबाट ग्रसित छौ भने राम्रो हुन गैरहेको छ भन्ने बुझ । कुनैपनि राम्रो काम गर्न तिमी कठिनाइबाट गुज्रनुपर्छ । आफूले आफूलाई स्वीकार गर’ जमैकन मूलका अमेरिकी संगीतकर्मीले भने ।

मायामीमा आफूले गरेका ठूला पार्टी र त्यसमा भोगेका संघर्षकालिन दिन उनले सम्झिए । ‘त्यो हलमा कोही पनि थिएन । नाच्नेहरु गैसकेका थिए । सुरक्षा गार्ड पनि थिएनन् । तर, मैले चारपाँच घण्टा रित्तो हलमा बजाइरहेँ । किनकी म संगीतलाई प्रेम गर्छु’ उनको अनुभव थियो, ‘यदि तिमी संगीतलाई प्रेम गर्छौ भने, कोठाबाट निकालिन, खराब व्यवहारको सामना गर्न र खराब दिनको लागि तयार हुन सिक ।’

‘सबैजना सेलिब्रेटी बन्न खोज्छन् । तर, मैले आफ्नो भागको चरित्र निर्वाह गरिरहेको छु’ उनले भने, ‘लगनशिलता र टीमवर्कमा काम गर्न सिक्नूस, सफलताले पछ्याउँछ ।’ वाल्सीलाई कार्यक्रममा नेपाली तन्नेरीले संगीतप्रति उनको भोगाई, काम गर्ने शैली र टिप्सबारे प्रश्न गरे । उनले आफ्नो बहुचर्चित ब्ल्याक चाइनी साउण्ड सिस्टमबारे पनि कुरा गरे ।

उनको कुराकानी यसमै रोकिएन । उनका दाजु कोर्टनी वाल्स जमैकाका विश्वचर्चित पूर्वक्रिकेटर रहेछन् । बुवाका १२ सन्तानमध्ये आफू कान्छो भएको उनले बताए । खास नाम लेइटन पल वाल्स रहेपनि वाल्सी फायरबाट विश्व चर्चित उनको जन्म चाहिँ अमेरिकाको फ्लोरिडामा भएको हो ।

उनको सांगीतिक समूह मेजर लेजर जमैकन संगीत संस्कृति भनिने डान्सहलसँग सम्बन्धित छ । सन् १९७० को दशकको अन्त्यतिर जमैकाको राजनीतिक अस्थिरताको कालखण्डमा जन्मिएको डान्सहल संगीतको दबदबा १९८० र ९० को दशकमा रह्यो । यसबाट प्रभावित भएको मेजर लेजरले विश्वचर्चित संगीतकर्मीसँग सहकार्य गरेको छ ।

थुप्रै हिट गीत सार्वजनिक गरेका उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू चर्चित छन् । जुन गीत नेपाली युवामाझ प्रिय छ । उनको गीत ‘लीन अन’ ३.५ बिलियन पटक हेरिएको छ । ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ ।

वाल्सी फायरले बुधबार ठमेलको क्लब एलओडीमा प्रस्तुति दिने कार्यक्रम छ । उनले आफ्ना कुरा सुन्न संवाद श्रृंखलामा उपस्थित भएका नेपाली तन्नेरीलाई पनि आफ्नो प्रस्तुतिमा सहभागि हुन निम्तो दिए ।

‘आर्ट्स इन्भोय २०२४ : खुलौं बोलौं’ थिमसहित अमेरिकी दूतावासले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यी कार्यक्रमले दुई मुलुकबीच सांस्कृतिक अनुभव आदानप्रदान र घनिष्टता वृद्धिमा मद्दत पुग्ने आशा लिएको दूतावासले उल्लेख गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button