सौर्य ऊर्जा आयोजनासँग गरिने पीपीए सीमा बढ्यो

२ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा आयोजनासँग गरिने विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को सीमा बढाएको छ ।
प्राधिकरणले सौर्य ऊर्जा आयोजनाहरूको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ । प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पीपीए भइसकेका आयोजनालाई समेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा पीपीए गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाको पीपीए हुँदै आएको थियो ।
सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ । प्रतिस्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ, त्यही आयोजनासँग पीपीए गरिने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नयाँ व्यवस्थाले करिब ८ सय मेगावाटका सौर्य आयोजनाको पीपीए गर्न सकिने भएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य ऊर्जा आयोजनाको पीपीए गर्ने गरी प्रतिस्पर्धा गराउने तयारी रहेको उनले जानकारी दिए ।
जलविद्युत् आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् माग पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको घिसिङले जानकारी दिए ।
यसबाट सबस्टेसन वरिपरिका जग्गाको पनि प्रयोग हुने बताइएको छ । प्राधिकरणले प्रतिस्पर्धाबाट हालसम्म १ सय ७५ मेगावाटको पीपीए गरेको छ । त्यसमध्ये १ सय ६ मेगावाट सञ्चालनमा आएका छन् । थप ३० मेगावाटका सौर्य ऊर्जा आयोजना पीपीए गर्ने प्रक्रियामा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।