काठमाडौं महानगर र मध्यपुर थिमि सेमिफाइनलमा

२२ बैशाख, ललितपुर । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको शनिवार सेमिफाइनलमा प्रबेश गरेका छन् ।
शनिबार गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारमा स्थान बनाएको हो ।
मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले एक–एक गोल गरे । खेलको चौथो र ५४ औँ मिनेटमा गोल गरेका दिपक खेलको म्यान अफ दि म्याच भए । उनले ५ हजार नगद र ट्रफि पाए ।
प्रतियोगिता आफ्नो ब्यक्तिगत गोल संख्या ४ पुर्याएका मध्यपुरका रोहनले खेलको ५८ औँ मिनेटमा गोल गर्दा कप्तान यमनले ६० औँ मिनेटमा गोल गरेका थिए । खेलको ४१ औँ मिनेटमा मध्यपुरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिमा सुर्दशनले गोल गरेका थिए ।
पराजित टिम कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरे । उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो । यसअघि उनले तारकेश्वर नगरपालिका विरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए । यमनले खेलको ४३ औँ, ६६ औँ र ८२ औँ मिनेटमा गोल गरे । कीर्तिपुरका लागि अर्को एक गोल सन्जोग महर्जनले खेलको ८१ औँ मिनेटमा गरे ।
शनिबार नै भएको अन्तिम क्बार्टरफाईनलमा आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २–१ ले हराउँदै काठमाडौं महानगरपालिका पनि सेमिफाइनलमा पुगेको छ ।
काठमाडौंका लागि दुबै गोल राज पौडेलले गरे । उनले खेलको २० औं र ६५ औं मिनेटमा गोल गरेका थिए । राज नै खेलको म्यान अफ दि म्याच भए । उनले ५ हजार नगद र ट्रफि पाए ।
पराजित गोदावरीका लागि खेलको ९० औँ मिनेटमा राजन मर्हजनले एक गोल फर्काए ।
मंगलबार सेमिफाइनलका दुबै खेल
शनिबार क्बार्टरफाइनलका खेल सकिएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
काठमाडौं महानगर र मध्यपुर थिमिबीच पहिलो सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनल बैशाख २५ गते मंगलबार दिउँसो साढे १२ बजे सुरु हुनेछ । सोही दिन दिउँसो साढे ३ बजे चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल हुनेछ ।
चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० लाई तथा महालक्ष्मी नगरपालिकाले दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।
उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।