ओलीलाई प्रचण्डको अफर : यही गठबन्धनबाटै प्रधानमन्त्री बन्नुस्

१७ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मालाई सत्ता समीकरणबारे ‘विवेकसम्मत निर्णय’ लिन सुझाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बालकोट पुगेपछि झस्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार ओलीसँग झण्डै ३ घण्टा लामो छलफल गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा दुई नेताबीच सत्ता समीकरण, बजेट, विभिन्न नियुक्ति र भावी सहकार्यबारे छलफल भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको असन्तुष्टि सम्बोधन गर्न तयार रहेको बताएका थिए । ‘कांग्रेससँग मिलेर सरकार बनाउन सहज भए मेरो सुझावको अर्थ रहेन । अन्यथा, तपाईंका असहमति केके हुन लिएर आउनुहोस्’ प्रचण्डले भने ।
आफू राजनीतिक नियुक्तिका लागि सबै प्रकारले लचक हुन तयार रहेको प्रचण्डले ओलीलाई बताएका थिए । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा आफूले अन्यथा नचाहेको भनेर प्रधानमन्त्रीले रियलाइजेसन नै गर्नुभएछ’, माओवादीका एक पदाधिकारीले अनलाइनखबरसँग भने ।
ओलीलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठक अगाडि र पछाडि पार्टीका मन्त्रीहरुसँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आफू निरन्तर संवादमा रहेको र ओलीले नेपालको आन्तरिक राजनीति र बाह्य चासो समेतलाई ख्याल गरेर निर्णय लिने ब्रिफिङ गरेका छन् ।
‘तपाईंलाई प्रधानमन्त्री नै चाहिएको हो भने संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पास गरौं । सात/आठ महिनामा मै छाडिहाल्छु । वर्तमान गठबन्धनबाटै प्रधानमन्त्री बन्नुस्’ प्रचण्डले ओलीलाई आफूले गरेको प्रस्तावबारे पार्टीभित्र ब्रिफिङ गरेका छन् ।
संक्रमणकालीन न्यायसम्बधी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा लामो समयदेखि विचाराधीन छ ।
विधेयकका चार वटा विषयमा कुरा मिल्न बाँकी छ, जसमा गम्भीर मानवअधिकारको उल्लंघनको परिभाषा, मानवअधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?, घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोकेर जाने भन्ने विषय छ ।
पछिल्लो पटक तीन दलबीच बुधबार भएको छलफलले एमालेका प्रमुख सचेक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादीका सांसद जनार्दन शर्मा सदस्य छन् ।
यो कार्यदलको सुझावका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने र संघीय संसदबाट पारित गरेपछि सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको प्रचण्डको प्रस्ताव छ ।
एमाले अध्यक्ष ओलीले पनि ‘विवेकसम्मत नै निर्णय लिने’ जवाफ फर्काएको प्रचण्डको ब्रिफिङ छ । भेटमा प्रधानमन्त्री प्रचण्डले राजनीति विश्वासमा चल्ने भन्दै कांग्रेसको समर्थनमा सरकार बनाएर बाँकी अवधि लैजान सकिने/नसकिने विषयमा ख्याल गर्न सुझाएका छन् ।
‘कांग्रेसको समर्थनमा तपाईं प्रधानमन्त्री बन्नुभयो र ३० दिनभित्र विश्वासको मत पाउनु भएन भने कोर्स अर्कोतिर जानसक्छ’ प्रचण्डले भनेका छन्, ‘त्यो बेला सबैभन्दा ठूलो दलको नेताले प्रधानमन्त्री भएर पनि विश्वासको मत नपाए मुलुक मध्यावधिमा जान्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।