अल्ट्रा धाविका प्रिया राई गृह पालिकामा सम्मानित

३० वैशाख, खोटाङ । अल्ट्रा धाविका प्रिया राई आफ्नै गाउँपालिका खोटाङको ऐंसेलुखर्क गाउँपालिकाद्वारा सम्मानित भएकी छन् ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा आयोजना भएको पहिलो अध्यक्ष भलिबल कप प्रतियोगिताको अवसरमा अल्ट्रा धाविका प्रिया राई नगद र प्रशंसा पत्रसहित सम्मानित भएकी हुन् ।
धाविका राई जन्मस्थान ऐंसेलुखर्क गाउँपालिकामा पहिलोपटक सम्मानित भएकी हुन् । ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राईले प्रियालाई सम्मानपत्र प्रदान गरे ।
अध्यक्ष राईले प्रियाले देश विदेशमा दौडेर आफ्नो जन्म स्थानको नाम समेत चिनाएको भन्दै उनलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए ।
यस्तै गाउँपालिकाले अर्की अल्ट्राधाविक निर्मला राईलाई पनि नगद २५ हजारसहित सम्मान गरेको छ । निर्मलाले केही समयअघि १७० किमीको मन्जुश्री ट्रेल रेस जितेकी थिइन् ।
नेपालको अन्तर्राष्ट्रिय अल्ट्रा धाविका राईले आफ्नो ठाउँको सम्मान हुन पाउँदा बेग्लै हौसला मिलेको बताइन् । उनी खोटाङको पहिलो अल्ट्रा धाविका पनि हुन् ।
उनले विश्वका विभिन्न स्थानमा गएर अल्ट्रा रेसमा भाग लिएकी छन् ।
यस्तै नेपाल भित्रै भएको अधिकांश अल्ट्रा रेसहरु जितेकी छन् । उनले केही समयअनघि भएको मन्जुश्री ट्रेल रेसमा ५० किमी महिलातर्फ र जुम्ला रारा अल्ट्रा म्यारथनमा महिलातर्फ उपाधि जितेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।