Main

कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु

११ कात्तिक, गुल्मी । कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ ।

वर्षायामको समयमा पानीको बहाव बढेको कारण गत जेठ महिनाबाट स्याङ्जाको आधिमुहान मिर्मीदेखि सेतीबेनीसम्म स्टिमर सेवा बन्द थियो ।

कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट पुनः सञ्चालन गरिएको शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले बताए ।

कालीगण्डकी करिडोर गुल्मी खण्डको र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले मेला पर्व, आन्तरीक पर्यटकहरु र शिला शालीग्राम दर्शन गर्नेहरुमा मात्र सीमित छ ।

कहिलेकाहीं अवलोकन गर्न आउनेहरुले स्टिमर रिजर्भ गरेर सेतीबेनी शिला शालीग्रामको दर्शन गर्न आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभाबका कारण चल्न नसकेको बताए ।
विगतमा सेतीबेनी बजारका ब्यापारी, बाग्लुङ, गुल्मी र पर्वतका व्यापारीहरुले स्टिमरबाट सामान पनि ढुवानी गर्दा सस्तो पनि हुने र स्टिमरको व्यापार पनि राम्रो हुने गर्दथ्यो । करिडोरको गुल्मी खण्ड, स्याङजा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा अहिले प्रभावित बनेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्ट्रारमा दर्ता भई सञ्चालनमा आएको छ । पहिले साना ठूला गरी १२ वटा स्टिमरहरु रहे पनि हाल भने तीन वटा मात्रै सञ्चालनमा रहेको अध्यक्ष भट्टराईले बताए ।

प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानु परे स्थानीय सरकारले निर्धारण गरेको दर रेट २ सय रुपियाँ छ । रिजर्भको लागि २ हजारदेखि माथि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेका छन् । कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटर जलयात्राको समय ३० देखि ४५ मिनेट सम्म लाग्ने गर्दछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button