Main

किताब जात्राको छैठौं संस्करण साउन तेस्रो साता

काठमाडौं । ‘किताब जात्रा’को छैटौं संस्करण साउन १८ र १९ गते काठमाडौंमा हुने भएको छ । किताब जात्रा फाउन्डेसनले आर्मी अफिसर्स क्लब, सुन्धारामा दुईदिने महोत्सव गर्ने भएको हो ।

‘किताब जात्राको छैटौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरि नयाँ आयामका साथ निरन्तरता दिंदैछौं ।’

किताब जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कला लगायत क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल संयोजक विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदान जस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।

लेखक र पाठकबीच अन्तरंग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङ लगायत विभिन्न क्षेत्रका व्यक्तित्व समावेश हुने १५ वटा सेसन रहने जनाइएको छ । साथै ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति समेत रहनेछ ।

पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ । किताब जात्रामा एक लाख ११ हजार १११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लाटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरीश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

किताब जात्राकै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रापछि सीए अध्ययनका लागि ‘प्रेमप्रसाद मेमोरियल स्कलरसिप’ प्राइम सीएको सहकार्यमा छात्रवृत्ति प्रदान गरिने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button