कोटेश्वरमा ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा

२२ चैत, काठमाडौं । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
२० फागनुमा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको २७ फागुनमा उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
ठक्कर दिने बसका चालक धनुषाको जनकनन्दनी गाउँपालिका–१ घर भएका ३० वर्षीय नवराज गिरीले गाँजा खाएको देखिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दा र गाँजा सेवनको मुद्दा चलाइएको थियो ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले बस चालक गिरीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
जाँचका क्रममा बस चालक गिरीले गाँजा खाएको पुष्टि भएपछि सवारी ज्यानसँगै गाँजाको कसुरमा पनि मुद्दा चलाइएको थियो । बस चालक गिरीले पनि बयानका क्रममा आफूले गाँजा खाएर बस चलाएको स्वीकार गरेका छन् ।
उनले भनेका छन्, ‘१९ फागुनमा काममा नगई पशुपति गएको थिएँ । बेलुकीपख एक जना जोगीले चुरोटमा गाँजा भर्दै गरेको देखेँ । त्यसपछि मैले पनि मागेर खाएको हो । बेलुका खानका लागि भनेर पनि घर ल्याएर खाएको हो । राति २ बजे गाँजा खाएर सुते । भोलिपल्ट बिहान उठेर गाडी चलाउँदा बिहान पौन १० बजेतिर दुर्घटना भयो’, चालक गिरीको वयान उधृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।
सई खत्रीको मृत्यु भएकाले बस चालक गिरीलाई सवारी ज्यानको मुख्य मुद्दा थियो । जसअन्तर्गत गाँजा खाई लापरबाही तरिकाले बस चलाई सईको ज्यान लिएको भन्दै १० वर्षसम्मको कैदको मागदाबी गरिएको थियो ।
त्यस्तै गाँजा खाएको पुष्टि भएपछि उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ को खण्ड (क) विपरीतको कसुरमा पनि मुद्दा चलाइएको थियो । उक्त कसुर अन्तर्गत गाँजा सेवन गर्नेलाई १ महिनासम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।