नयाँ सरकार मुलुकको अविभावक बन्ने कोसिस गरोस् : कांग्रेस सांसद श्रेष्ठ

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नयाँ सरकार मुलुकको अविभावक बन्ने कोसिस गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु रहेता पनि सरकार सबैको हुनुपर्ने बताए ।
‘आजको सरकार साझा सरकार हो । प्रतिपक्षमा बस्नेको पनि सरकार हो । सत्तापक्षको पनि सरकार हो । यसले कसैलाई पनि काखा र पाखा बनाउनुपर्ने आवशयकता छैन’ उनले भने ।
विगतमा सत्तामा बस्नेको अभिमान, ठूलो स्वर सुनिने गरेको भन्दै उनले थपे, ‘नयाँ सरकारले यो मुलुकको अविभावक बन्ने कोसिस गरोस् ।’ प्रतिपक्षमा रहने दलहरुलाई निन्याउरो अनुहार नलगाउन पनि उनले आग्रह गरे ।
‘आज प्रतिपक्षमा बस्ने साथीहरुले निन्याउरो मुख लगाउनुपर्ने कुनै आवश्यकता छ भन्ने लाग्दैन्’ उनले भने । सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने महत्वपूर्ण अवसर पाएको भनेर सोही अनुसार भूमिका खेल्न उनले प्रतिपक्षमा रहेका दलहरुलाई आग्रह गरे ।
प्रतिसोधमा नलाग्न सुझाव
प्रतिसोधको ज्वालाले सबै दलहरुलाई त्रसित बनाएको उनले बताए । ‘यहाँ प्रतिसोधको ज्यावाले सबै पार्टीहरु डराएको छ’ उनले महाभारतको कथा सम्झिँदै भने ।महाभारतमा प्रतिसोधले आफ्नै वंश नाश भएका कथाहरु रहेको उल्लेअ गर्दै उनले त्यही नियत्ति भोग्ने अवस्था बन्नेतिर दलहरु अग्रसर हुन नहुने सुझाए ।
‘अब प्रतिसोधको ज्वालामा हिजोका पुराना कुराहरु, पुराना कामकारबाहीलाई मात्रै उखेलेर त्यसलाई प्रतिसोध गर्ने होइन । आफूले पनि केही नयाँ काम गर्ने वातावरण देखाउन सक्यो भने नयाँ सरकारले केही गरेको देखिन्छ’ उनले सुझाए ।
केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले थपे, ‘उहाँ पनि निर्विवाद व्यक्तित्व होइन । यो हामीले भन्नैपर्छ । अब कम विवादित भएर मुलुक निर्माणमा प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुहोस् । यसतर्फ शुभकामना व्यक्त गर्न चाहन्छु ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।