Main

काठमाडौंमा ओलम्पिक डे २०२४ मनाइयो

८ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार नेपालमा अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२४ मनाइएको छ ।

नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा रहेको कभर्डहलमा विभिन्न कार्यक्रम गरी ओलम्पिक डे मनाइएको हो ।

नेपालबाट विभिन्न खेलमा ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरुले ओलम्पिक टर्च लिएर कभर्ड हलमा प्रवेश गरेका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । नेपालमा भने जुनको पहिलो सातादेखि नै विभिन्न कार्यक्रम गरिँदै आएको थियो । जुन ८ मा ओलम्पिक डे को औपचारिक सुरुआत भएको थियो । शनिबार ओलम्पिक डे २०२४ को औपचारिक समापन सहितको कार्यक्रम आयोजना गरिएको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी ओलम्पिक डे मनाइएको उल्लेख गर्दै यसले नेपाली खेलकुदमा भ्रातृत्व बढ्ने बताए ।

ओलम्पिक डे २०२४ को समापनको अवसरमा बक्सिङ, जुडो, फेन्सिङ, कराते र उसु खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणमा सबैभन्दा छिटो शिखरमा पुग्ने महिलाको कीर्तिमान राख्न सफल फुन्जो लामालाई सम्मान पनि गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button