कोशीमा संसदीय समितिको सभापति चयन २८ भदौमा

२४ भदौ, विराटनगर । कोशी प्रदेशसभाको संसदीय समितिका सभापति चयन २८ भदौमा हुने भएको छ । प्रदेश सभा निर्वाचनको २१ महिनापछि संसदीय समितिका सभापति चयन गर्न लागिएको हो ।
प्रदेशसभा सचिवालयले २८ गते सभापति चयन गरेर त्यसै दिन शपथ गराउने तयारी गरेको छ ।
कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
सातमध्ये एमालेले ३, कांग्रेसले २, माओवादी केन्द्र र राप्रपाले १–१ वटा समितिको नेतृत्व लिने करिब सहमति जुटेको नेताहरुले बताएका छन् । यद्यपि कांग्रेसले पनि तीन वटै समितिको नेतृत्व दाबी गरेका कारण सहमति भइसकेको छैन ।
‘न्यूनतम एमालेले ३, कांग्रेसले २ र माओवादीले १ लिने र बाँकी एउटा भने कांग्रेस, एमाले, माओवादी वा राप्रपाले लिने भन्ने विषयमा निष्कर्षमा पुगिएको छैन’, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘भोलि टुङ्गोमा पुग्छौं ।’
केही दिनअघि अनलाइनखबरसँग मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राप्रपालाई पनि एउटा समिति दिने बताएका थिए ।
प्रदेशका सातमध्ये प्रमुख प्रतिपक्षी माओवादीले सार्वजनिक लेखा समिति पाउने लगभग निश्चित छ । प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टीले पनि समितिको नेतृत्वमा दाबी गरेको छ । तर मुख्यमन्त्री भने राप्रपालाई दिने तयारीमा छन् । ‘भोलिको परिस्थिति के हुन्छ राप्रपालाई पनि चिढ्याउन हुन्न भन्ने हो’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सहमतिमै समिति सभापति छान्ने कुरा छ, राप्रपाले पाउने सम्भावना छ ।’
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले एउटा समितिमा आफ्नो दलको दाबी रहेको बताए । ‘हामीले एउटा समिति नेतृत्व पाउनुपर्छ भनेर सबैसँग आग्रह गरेका छौं’, उनले भने,‘ जुन समिति पाएपनि सफल नेतृत्व गर्छौं ।’
४ मंसिर २०७९ को निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक १७ पुस २०७९ मा बसेको थियो । २० कात्तिक २०८० मा संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।