Main

क्यानडामा ‘नेपाल फेस्टिभल’ सम्पन्न, हिमाल सागरले दिए प्रस्तुति

काठमाडौं । क्यानडामा आयोजित ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा त्यहाँको ब्राम्पटन सहरस्थित केन विलियम्स स्क्वायरमा महोत्सव आयोजना भएको हो ।

जुलाई ७ मा सम्पन्न एकदिने महोत्सवमा पाँच हजार भन्दा बढी नेपाली सहभागी भए । महोत्सवमा सहभागीले नेपाली गीत-संगीत, भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारलाई रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए ।

‘महोत्सवमा नेपालीको सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ । हामीले अपेक्षा गरेको भन्दा दोब्बर संख्यामा उपस्थिति रह्यो । परदेशमा नेपाललाई मिस गरिरहनुभएको हामीले महसुस गरेका छौं,’ उनले भने ।

महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो । गायक हिमाल सागरसँगै कलाकार देविका केसी, मानसिंह खड्का, हिमालयन भाइब्स ब्याण्डसहित स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

गायक हिमालले महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए । क्यानडामा रहेको नेपाली समुदायमाझ प्रस्तुति दिन पाउँदा छुट्टै अनुभूति भएको उनले बताए । ‘प्रवासमा पाइने माया र आफ्नोपनलाई शब्दमा व्यक्त गर्न सकिंदैन । महोत्सवमा नेपाली गीत-संगीत र नेपालप्रति दर्शाउनु भएको माया अद्भूत छ,’ सागरले भने ।

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

क्यानडामा रहेका नेपाली संघसंस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपाली-नेपालीबीच सामीप्य बढाउन सफल भएको आयोजकले बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button