क्यान्सरको उपचार गर्न किन भारत गइरहेका छन् बिरामी ?

काठमाडौं । ललितपुरको भैंसेपाटी निवासी शारदा खड्का (नाम परिवर्तन)को गाला एक्कासि सामान्य भन्दा रातो हुन थाल्यो । उनीहरुले त्यसलाई खासै वास्ता गरेनन् । त्यसको केही महिनापछि एक दिन समय मिलाएर शारदा र उनका श्रीमान् होलबडी चेकअपको लागि अस्पताल पुगे । अस्पातलमा होलबडी चेकअप गरेर घर फर्किए दुई दिनपछि रिपोर्ट आयो । रिपोर्टमा थाइराइडको समस्या देखियो र हेमोग्लोबिनको मात्रा पनि असाध्यै बढी देखियो ।
त्यसपछि त्यो रिपोर्ट देखाउन डा. अंशुमली जोशीकहाँ पुगे । डा. अंशुमलीले अर्का चिकित्सक डा. अजयकुमार झालाई भेट्ने सल्लाह दिए । सल्लाहअनुसार उनले डा. अजयलाई भेटे रक्तक्यान्सर हुनसक्ने अनुमान सहित थप जाँच गर्नुपर्ने बताए । थप जाँचको नमुना परीक्षण गर्न भारत पठाउनुपर्ने र रिपोर्ट आउन तीन-चार दिन लाग्ने उनले थाहा पाए ।
रिपोर्ट आउन धेरै दिन लाग्दा समस्या झन् बढ्ने पो हो कि भनेर शारदा र उनको परिवार डराए । यता जाँच गरेर रिपोर्ट कुर्नु भन्दा बरु आफैं भारत गएर परीक्षण गराउने सोचसहित उनीहरु भारत गए ।
शारदा भन्छिन्, ‘नेपालमा क्यान्सरको सम्पूर्ण परीक्षण हुँदैन रहेछ । परीक्षणका लागि स्पाम्पल भारत नै पठाउनुपर्ने रहेछ र रिपोर्ट आउन पनि पाँच दिनदेखि एक हप्ता लाग्ने रहेछ । यस्तोमा त आफैं भारत गएर परीक्षण र उपचार गर्न सहज भयो ।’
त्यस्तै काठमाडौंको कपन निवासी शर्मिला न्यौपाने (नाम परिवर्तन)लाई पेट दुख्ने समस्याले सताइरहन्थ्यो । समस्या बढ्दै गएपछि उनी स्वास्थ्य जाँचका लागि चावहिलस्थित ओम अस्पताल पुगिन् ।
केही दिनपछि स्वास्थ्य जाँचको सम्पूर्ण रिपोर्ट आयो । उनलाई पाठेघरको मुखको क्यान्सर देखार्यो । आफूलाई क्यान्सर भएको थाहा पाउँदा एकछिन त उनी अचेत भइन् । त्यसपछि आफूलाई सम्हालिन र घर गएर परिवारलाई सबै कुरा बताइन् । परिवारका सदस्यले उपचारका लागि भारत जाने सल्लाह दिए । तर उनी भने नेपालमा नै उपचार गराउन चाहन्थिन् ।
नेपालमै उपचार गर्ने सोचले उनी क्यान्सरको अस्पताल गइन् । तर त्यहाँको भिडभाड र ढिलाइले उनलाई निराश बनायो । त्यसैले उनले परिवारको सल्लाहअनुसार भारत नै गएर उपचार गर्ने निर्णय गरिन् । नेपालमै क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, प्रविधि र पद्धति उपलब्ध रहेको चिकित्सक र विज्ञहरूले बताउँछन् ।
तर पनि क्यान्सरको उपचार गर्न भारत, अमेरिका वा युरोपेली देशहरू धाउने बिरामीको संख्या उल्लेख्य रहेको पनि चिकित्सकहरू बताउँछन् । ‘क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असम्भव हुने गर्छ ।
क्यान्सरको उपचार नेपालमा नै सम्भव छ भनेर चिकित्सक र अस्पतालले भनिरहेका छन् । तर पनि धेरै नेपाली क्यान्सरको उपचारका लागि भारत लगायत देश जाने गर्छन् ।
त्यसको कारण के हो ?
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही भन्छन्, ‘मान्छेको स्वभाव नै सबैभन्दा राम्रो कुरा खोज्ने हुन्छ । उपचार पनि राम्रो नै होस् भन्ने लागिहाल्छ । नेपाल धेरै कुरामा भारतमा निर्भर छ । स्वास्थ्य क्षेत्रमा पनि हामीभन्दा केही गुणा विकसित नै छ भारत ।’
क्यान्सरको उपचारको कुरा गर्दा क्यान्सरको रोबटिक सर्जरी, बोनम्यारो ट्रान्सप्लान्ट नेपालमा निकै कम हुन्छ । त्यसैले पनि धेरै बिरामी क्यान्सरको उपचारका लागि भारत जाने गरेको डा. शाही बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।