प्रस्तावित निर्वाचन आयुक्तलाई प्रश्न : आफू विरुद्धको उजुरी हेर्दा कस्तो आभास हुन्छ ?

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगका लागि प्रस्तावित आयुक्त कृष्णमान प्रधानलाई आफूविरुद्ध परेको उजुरी हेर्दा कस्तो आभास भइरहेको छ भनेर सोधेका छन् ।
संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।
प्रधानको कार्ययोजना सुनेर सांसदहरूले प्रश्नोत्तर सुरु गरेका थिए । ‘तपाईंको योग्यता र अनुभवमा प्रश्न छैन । तर, तपाईं विरुद्धको उजुरी जटिल र गम्भीर छ । तपाईं माथिको आरोप हेर्दा तपाईंलाई आभास होला ।’
एमालेकी सांसद ईश्वरी घर्तीले पनि प्रस्तावित आयुक्त प्रधानलाई उच्च नैतिक चरित्रको प्रश्न आएको बताइन् ।
प्रधानविरुद्ध एक महिलाले आफूलाई ‘यौन शोषण’को आरोपमा उजुरी दिएकी छन् । सोही आरोपमा थप तीन वटा उजुरी परेका थिए ।
सांसद घर्तीले ‘सन २०१७ देखि २०२३ सम्म एकजना महिलासँग सम्बन्ध भएको, त्यो सम्बन्ध राम्रोबाट सुरु भएर लेनदेनमा पुगेर टुंगिएको देखिएको’ उल्लेख गर्दै यसको वास्तविकता खोजेकी छन् ।
संविधानको धारा २४५ को ६ को ‘घ’ मा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले लागेको आरोपलाई आधार मान्दा प्रस्तावित पदका लागि अयोग्य हुने बताइन् ।
प्रधानको सुनुवाइ जारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।