क्रिप्टो कारोबारीसँग ५० लाख असुली घटनामा दुई प्रहरीलाई कारबाही सिफारिस

८ असोज, काठमाडौं । क्रिप्टो कारोबारीसँग ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीलाई कारबाही सिफारिस भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसीको नेतृत्वको छानबिन समितिले दुई प्रहरीलाई कारबाही सिफारिस गरेको हो ।
कारबाही सिफारिस हुनेहरुमा सहायक हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी विनोद घिमिरेले बताए । उनीहरु दुबै जना जिल्ला प्रहरी कार्यालय काठमाडौंमा कार्यरत छन् ।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले एसपी नवराज अधिकारीको नेतृत्वमा गठन गरेको छानबिन समितिले पनि उनीहरुलाई कारबाही सिफारिस गरेको थियो ।
उनीहरुले क्रिप्टो कारोबारीसँग रकम बुझेको नदेखिए पनि उनीहरुको भूमिका शंकास्पद देखिएकाले थप अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइएको एसएसपी घिमिरेले बताए ।
‘अहिले नै यही कारबाही भनेर तोकिएको छैन । रकम बुझेका व्यक्ति फरार नै छन् । जसकारण उनीहरुको भूमिका शंकास्पद देखिएकाले थप अनुसन्धान गरी देखिए बमोजिम कारबाही गर्न सिफारिस गरेका हौं’, एसएसपी घिमिरेले भने ।
क्यानडामा बस्दै आएका आशिष आचार्य नाम गरेका व्यक्ति त्यहाँ रहँदा क्रिप्टो कारोबार गर्थे । उनीसँगै क्यानडामा बस्ने तेज तामाङसँगै काठमाडौं आएका थिए । हवल्दार खड्कासँग तेजको पूर्व चिनजान रहेकाले उनले क्रिप्टोकरेन्सी कारोबारीको सूचना दिने भन्दै आशिष आचार्यबारे बताएका थिए । त्यसपछि १४ भदौमा काठमाडौं परिसरको टोलीले आचार्यलाई पक्राउ गरेको थियो ।
ती युवक पक्राउ परेपछि तामाङले उनका आफन्तसँग सम्पर्क गर्दै घटनाबारे बताएका थिए । उनलाई छुटाउने भए प्रहरीलाई ५० लाख दिनुपर्ने बताएपछि उनको परिवार सहमत भएको थियो ।
त्यसपछि आचार्यका दिदीले तामाङलाई ५० लाख रुपैयाँ बुझाएको पनि प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । तामाङले ५० लाख बुझेपछि १४ भदौमा पक्राउ परेका आचार्य १६ भदौमा रिहा भएका थिए ।
प्रहरी हिरासतबाट छुटेर ती युवक क्यानडा गइसकेपछि उनकी दिदीले घटनाबारे जानकारी गराउँदै परिसरमै निवेदन दिएपछि घटनाको रहस्य बाहिर आएको हो । त्यसपछि प्रहरीले छानबिन सुरु गरेको थियो । सो क्रममा हवल्दार खड्कालाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।