क्लोपका लागि हरेक ट्रफी जित्न चाहन्छ लिभरपुल

२ चैत, काठमाडौं । लिभरपुलका डिफेन्डर कोनोर ब्राडलीले सिजनको अन्तिममा क्लब छाड्न लागेका योर्गन क्लोपका लागि सम्भावित सबै ट्रफी जित्न चाहेको बताएका छन् ।
युरोपा लिगको क्वारटरफाइनल अन्तर्गत दोस्रो लिगमा स्पार्टा प्रागलाई फराकिलो अन्तरले पराजित गरेपछि ब्राडलीले यसो भनेका हुन् ।
पहिलो लिग ५–१ ले जितेको लिभरपुलले दोस्रो लिगमा ६–१ को जितसहित समग्रमा ११–२ ले नतिजा आफ्नो पक्षमा पारेको हो । युरोपियन प्रतियोगितामा पछिल्लो चार दशकमा यो समग्रमा सबैभन्दा ठूलो अन्तरको जित हो । लिभरपुलले सन् १९८०–८१ को युरोपियन कपमा फिनिस क्लब ओउलुन पाल्लोसेउराविरुद्ध पहिलो चरणमा प्राप्त जितको बराबरी पनि गरेको हो ।
‘मैले यस क्लबमा चिनेको क्लोप एक्लो म्यानजर हुन् । त्यसैले उनले क्लब छाड्नु दुःखद हो,’ नर्दन आयरल्याण्डका फुलब्याक समेत रहेका ब्राडलीले टीएनटी स्पोर्ट्ससँग भने, ‘हामी उनको लागि हरेक ट्रफी जित्न चाहन्छौँ र हामीले सक्ने जति राम्रो सम्मान दिन चाहन्छौँ ।’
फेब्रुअरीमा काराबाओ (लिग कप) कपको उपाधि जितिसकेको लिभरपुल प्रिमियर लिगमा दोस्रो स्थानमा छ । यस्तै एफए कपको अन्तिम ८ मा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।