गोरखामा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजना बन्दै

६ चैत, गोरखा । गोरखाको गण्डकी गाउँपालिका-१ बुटारमा सुपर त्रिशुली जलबिद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालिएको उक्त आयोजना १०० मेगावाट क्षमताको रहने प्रालिका निर्देशक निरन्जन रेग्मीले बताए ।
निर्देशक रेग्मीका अनुसार काठमाडौंको सीई निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएर काम अघि बढाइएको हो ।
‘सिभिल र हाइड्रो मेकानिकल कामका लागी सिईसँग ११ अर्वमा ठेक्का सम्झौता गरेका हौ,’ उनले भने, ‘इलेक्ट्रोनिक मेकानिकलका लागी छुट्टै कम्पनीसँग ठेक्का सम्झौता गर्छौं।’ २०२३ मार्च १६ मा सम्झौता भएर काम अघि बढेको उनले जानकारी दिए ।
आयोजना अन्तरगत अहिले बिद्युत गृह निर्माणका लागी जग खन्ने काम भइरहेको छ । सँगै गोरखाको गण्डकी गाउँपालिका (बुटार) र चितवनको इच्छाकामना गाउँपालिका (चुम्लिङटार) जोड्ने त्रिशुली नदीमाथि बेलिब्रिज पनि बन्दै छ ।
आयोजनाका लागी भन्दै करिव १४ करोड खर्चेर प्रालि आफैले बेलिब्रिज निर्माण गर्न लागेको हो । बेलिब्रिजको सामग्री भने सडक योजना कार्यालय गोरखाले उपलब्ध गराएको प्रालिले जनाएको छ । वैशाख महिनाभित्र बेलिब्रिज तयार गर्ने योजना प्रालिको छ ।
नदी प्रवाह (रन अफ रिभर) मा आधारित नेपालको यो नै पहिलो आयोजना भएको प्रालिले दावी गरेको छ । ‘यसमा सुरुङ हुदैन, बाँधसँगै विद्युत गृह हुन्छ, यो मोडलको जलबिद्युत आयोजना नेपालमा अहिलेसम्म बनेको छैन, यो नै पहिलो हो,’ वातावरण इन्जिनियर एवं आयोजनाका परामर्शदाता सलिल देवकोटाले भने । समुन्द्री सतहदेखि २ सय ७५ मिटरमाथि बाँध बनेर पानीको ताल बन्ने उनले बताए ।
उनका अनुसार यस आयोजनामा ‘होरिजेन्टल बल्ब’ प्रकारको तीन वटा टर्वाइन प्रयोग हुनेछन् । टर्वाइनहरु ३४.३६ मेगावाट क्षमताको रहने छन् ।
आयोजनाले करिब २४ हेक्टर क्षेत्रफल जमिन ओगट्ने बताइएको छ । करिब ४० रोपनी निजी जग्गा खरिद समेत गरिसकेको प्रालिले जनाएको छ । ‘केही क्षेत्र वनको पनि पर्छ, दुई हजार जति रुख काट्नुपर्ने देखिएको छ,’ प्रालिका निर्देशक रेग्मीले भने, ‘हामीले एउटा रुख काटे वापत दश वटा रोप्ने र पाँच बर्षसम्म हामीले हेरचाह गर्ने प्रतिवद्धता सहित नेपाल सरकारसँग अनुमति लिइसकेका छौं।’
आयोजना क्षेत्रमा पर्ने ६ वटा घाटहरु आयोजना बनेपछि सोही ठाउँमा पुनर्स्थापना गरिदिने उनले जानकारी दिए । माछालाई आवतजावतमा अवरोध नहोस् भन्ने उदेश्यले बाँधमा माछाको भर्याङको व्यवस्था गरिने उनले बताए ।
चार वर्षभित्र आयोजनाको काम सक्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिने छ । आयोजना बनेपछि स्थानीयले बहुपक्षिय लाभ लिन सक्ने बताइएको छ ।
‘स्थानीयले रोजगार पाउछन्, व्यापार व्यवसायमा बृद्धि हुन्छ, बाँधमाथि बन्ने तालमा केज माछापालन, नौका बिहार संचालन गर्न सकिन्छ, फेरी तालको छेउछाउ होटल व्यवसाय पनि संचालन गर्न सकिन्छ,’ वातावरण इन्जिनियर देवकोटाले भने । पर्यटन प्रवर्द्धनमा समेत आयोजनाले सघाउ पुर्याउने उनले जानकारी दिए ।
प्रालिले २०६६ सालमै सर्भे लाइसेन्स लिएको थियो । २०७२ सालको भूकम्प अगाडि टेन्डर निकालेर चाइनिज कम्पनीलाई काम दिइएको थियो । तर, कोरोनाका कारण चाइनिज कम्पनीले काम सम्पन्न गर्न सकेन ।
वित्तीय व्यवस्थापन समयमै नगरेको भन्दै बिद्युत बिकास बिभागले प्रालिको लाइसेन्स पनि खारेज गरिदिएको थियो । पछि मुद्दा गरेर जितेपछि पुन: लाइसेन्स प्राप्त गरेको प्रालिले जनाएको छ ।
२०७४ सालमा विद्युत उत्पादन लाइसेन्स पाएको प्रालिले २०७५ मा विद्युत खरिद बिक्री सम्झौता गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।