Main

खेलकूदलाई विकासको बाटोमा डोर्‍याउन तयार छु : खेलकूदमन्त्री चौधरी

३ साउन, काठमाडौं। नवनियुक्त युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अध्यक्ष समेत रहेका खेलकूद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् ।

‘म मन्त्री भएको केही दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकूदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’ मन्त्री चौधरीले भने– ‘खेलकूदलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँग एक टिम भएर अगाडि बढ्न तयार छु ।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको बताए ।

मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकूदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीज्यूको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरुलाई कार्यन्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउदै आफ्नो कार्यकालको अन्तिम दिन (यही साउन १४ गते) सम्ममा मन्त्रीज्यूसँग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकूदलाई गहिर्‍याइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकसंगै १० औं राष्ट्रिय खेलकूदको तयारीमा जुटेको बताए । यसैबीच बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सदस्य–सचिव घिसिङले खेलकूद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरु विस्तृत रुपमा पनि प्रस्तुत गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button