Main

‘गठबन्धन नभए पनि कांग्रेसलाई गाह्रो छैन’

दोलखाको गौरीशंकर गाउँपालिकामा नेपाली कांग्रेसले पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाएको छ । सोही पालिकाकी पूर्वउपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातबाट निधनपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले तामाङपत्नी पासदिकीलाई उम्मेदवार बनाएको हो ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको बलमा गठबन्धनका उम्मेदवार श्यामसुन्दर उपाध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसले उपाध्यक्षसहित ४, ६ र ९ वडामा जित निकालेको थियो ।

उपाध्यक्षकी प्रत्यासी पासदिकी कांग्रेसको १२ औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील छन् । प्रस्तुत छ, पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेकी उनले अनलाइनखबरसँग गरेको संक्षिप्त कुराकानीः

नेपाली कांग्रेसले गौरीशंकरको उपाध्यक्ष पदमा तपाईंलाई उम्मेदवार बनाएको छ । के कस्ता एजेन्डा लिएर मत मागिरहनुभएको छ ?

भोट माग्नका लागि हिंडिरहेकी छु । बाटो अलि राम्रो छैन । जनप्रतिनिधि बनेको अवस्थामा बाटो निर्माण गर्ने मेरो ध्यान छ । मुख्य समस्या बाटो रहेकाले त्यही कुरा उठाउँदै आएकी छु ।

बाटोको समस्या कुनै कुनै वडामा मात्रै हो कि पूरै पालिकाको ? अहिलेसम्म घरदैलो गर्न सबै वडा पुग्नुभयो ?

कुनै कुनै वडामा बाटो बनेको छैन । अरूमा खासै समस्या छैन । १/२ ठाउँमा खानेपानीको समस्या छ । शिक्षाको खासै समस्या छैन । लगभग सबै वडामा प्रचार गरिसक्यौं । अब धेरै ठाउँमा पुग्नुपर्ने छैन । घरघरै पुगेर मान्छे भेटेका छौं । भोट दिन्छौं भन्नुभएको छ ।

जनताले कस्ता समस्या सुनाइरहेका छन् तपार्ईंलाई ?

घरदैलो गर्दा अलि धेरै बाढीपहिरोको कुरा गर्नुभएको छ । तल घर छन्, माथिबाट पहिरो गएर क्षति पुर्‍याएको छ । खारे भन्ने ठाउँमा घरको आधा भाग नै पहिरोले पुरेको छ । पहिरो रोक्नका लागि तारजाली गर्न वडाले सहयोग गरेको छ ।

अघिल्लोपटक माओवादीसँग गठबन्धन गर्नुभएको थियो । अहिले गठबन्धन छैन । तपाईंलाई चुनौती थपियो नि ?

त्यतिबेला गठबन्धन गरेर जाँदा पनि त्यति सजिलो त थिएन । अहिले कांग्रेसका लागि गाह्रो छैन । अहिलेसम्म प्रचारमा हिंड्दा राम्रै प्रतिक्रिया आइरहेको छ ।

गौरीशंकरमा एमाले र माओवादीका केन्द्रीय तहका नेताहरू नै दौडधुपमा छ । ती दुई दलको टक्कर हुने विश्लेषण गरिने रहेछ नि ?

प्रतिस्पर्धा जुनसुकै दलको भएपनि हामी चुनाव जित्ने गरी लागिरहेका छौं । हार जित भन्ने कुरा आफ्नो ठाउँमा हुन्छ । हामी कमजोर छैनौं । चुनाव जित्नका लागि प्रचारमा लागिरहेका छौं ।

प्रचारप्रसारका लागि केन्द्रीय नेताहरू पनि आउनुभएको छ कि ?

केन्द्रीय नेताहरू पनि प्रचारमा सहयोग पुर्‍याउन आउनुभएको छ । कुन्दनराज काफ्ले आएर फर्किनु भयो । प्रचार अहिलेसम्म राम्रो छ । जिल्ला र स्थानीय तहका नेताहरू लागिपर्नुभएको छ । हामीले चुनाव जित्छौं जस्तो लाग्छ ।

अहिले चुनावमा खर्च धेरै जुटाउनुपर्ने र चुनाव महँगो भएको कुरा उम्मेदवारहरू गर्छन् । तपाईंको अनुभव कस्तो छ ?

खर्च त यति नै होला भन्न सकिंदैन । मेरो श्रीमानले जित्नुभएको थियो । उहाँको मृत्य हुँदा मलाई पार्टीले उम्मेदवार बनाएर पठाएको छ । मलाई सहानुभूति राखेर होला, सबैले सहयोग गर्नुभएको छ । त्यति खर्च देखिएको छैन ।

तपाई कांग्रेसमा क्रियाशील पनि हुनुहन्छ कि शुभेच्छुक मात्रै हो ?

कांग्रेसमा १२औँ महाधिवेशनपछि लागेर काम गरिरहेको छु । १२औँ महाधिवेशनपछि जिल्ला र गाउँपालिकामा हुने पार्टीको काममा हिंडिरहेकी छु । कांग्रेसमा लागेको १५/१६ वर्ष भयो ।

अहिले बागमती प्रदेश महिला संगठनको कार्यसमितिमा पनि छु ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button