काठमाडौंका विदेशी खेलाडी : एसोसिएटका उत्कृष्ट एरासमसदेखि बीबीएलका अनुभवी एस्किनाजीसम्म

१० मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।
८ टोलीको सहभागिता रहने प्रतियोगितामा बागमती प्रदेशबाट दुई टोलीमध्ये एक काठमाडौं गुर्खाज रहेको छ । यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका अलराउण्डर करण केसी छन् । उनीसँगै राष्ट्रिय टोलीका भीम शार्की, यू-१९ टोलीका स्पीनर दिपेश कँडेल, पेसर रासिद खान र पूर्वखेलाडी राजु रिजाल पनि छन् ।
टिमको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पहिलो ब्याचका खेलाडी वसन्त शाही ठकुरी छन् । उनी नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पनि हुन् भने नेपाली यू-१९ टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।
एनपीएलका लागि हरेक टिमले कम्तिमा चार खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी टोलीले अनुबन्ध गर्न पाउँछ ।
काठमाडौंले हालसम्म पाँचजना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ जसमा एसोसियटबाट दुई खेलाडी छन् भने इंग्ल्याण्डका ३ खेलाडी छन् । काठमाडौंले नामिबियाका जेरार्ड इरास्मस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर अनुबन्ध गरेको छ ।
कस्ता छन् काठमाडौंका विदेशी खेलाडी ?
माइकल लेभिट
नेदरल्याण्ड्सका ओपनिङ ब्याटर लेभिटले अन्तराष्ट्रिय क्रिकेटमा यसै वर्ष नेपालसँगकै खेलबाट डेब्यू गरेका हुन् । २१ वर्षीय दाँयाहाते ब्याटर बिस्फोटक ओपनिङका लागि परिचित छन् ।
उनले नेदरल्याण्ड्सका लागि टी२०आईमा १८ खेलमा ५५२ रन बनाएका छन् । उनले अन्य टी२० लिगहरू भने खेल्न बाँकी छ । नेपाल प्रिमियर लिगबाट नै उनको टी२० फ्रेन्चाइज लिगमा डेब्यू हुनेछ ।
उनले मिडियम पेस बलिङ पनि फाल्न सक्छन् र २ विकेट पनि लिएका छन् ।
जेरार्ड एरास्मस
नामिबियाका कप्तान एरास्मस एसोसिएटमा उत्कृष्ट खेलाडीमध्ये पर्छन् । २९ वर्षीय सफल अलराउण्डर एरास्मस नामिबियाको टोलीमा महत्त्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् ।
उनले नामिबियाका लागि टी२० आईमा ६५ खेलमा १५५७ रन बनाएका छन् भने सबैखाले टी२०मा १२५ खेल खेल्दा २१५१ रन बनाएका छन् । अफ ब्रेक बलिङ गर्ने उनले टी२०आईमा ५३ तथा सबैखाले टी२०मा ५९ विकेट लिएका छन् ।
उनले इन्टरनेशनल लिग टी२० खेलेका छन् ।
स्टेफेन इस्किनाजी
इंग्ल्याण्डका ३० वर्षीय विकेटकिपर ब्याटर इस्किनाजी सिनियर टोलीबाट नखेलेका अनुभवी ब्याटरमध्ये एक हुन् । उनले फर्स्ट क्लासमा ४ हजारभन्दा धेरै रन बनाएका छन् भने लिस्ट ए मा १४०० भन्दा बढी रन जोडेका छन् ।
त्यसैगरी सबैखाले टी२० मा गरेर उनले ११० खेलमा १ शतक र २१ अर्धशतकसहिर ३१०५ रन बनाएका छन् । झण्डै १४० को स्ट्राइक रेटले खेल्ने उनी विस्फोटक ब्याटिङका लागि चिनिन्छन् ।
उनले द हन्ड्रेड, भाइटालिटी ब्लास्ट, बिग ब्यास जस्ता लिग खेलिसकेका छन् ।
डान डौथवेट
इंग्ल्याण्डका २७ वर्षीय अलराउण्डर डौथवेटको पनि सिनियर टोलीबाट अनुभव छैन ।
दाँयाहाते ब्याटिङ गर्ने उनले सबैखाले टी२० मा ६२ खेल खेल्दा ६३० रन बनाएका छन् । त्यसैगरी मिडियम पेस बलिङ फाल्न सक्ने उनले ५७ विकेट पनि लिएका छन् ।
उनले भाइटालिटी ब्लास्ट र द हन्ड्रेड खेलेका छन् ।
नाथन सोटर
इंग्ल्याण्डका ३२ वर्षीय लेग-स्पिनर नाथन सोटर अस्ट्रेलियामा जन्मिएर घरेलु टोली न्यू साउथ वेल्सको यू-२३ टोलीबाट खेलेका थिए ।
उनले १४३ टी२० खेलमा १५४ विकेट लिएका छन् । उनले इकोनोमी ७.५ को हाराहारीमा हुने गर्छ । सोटरले आफ्नो किफायती बलिङमार्फत खेल नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।
उनले टी-२० ब्लास्ट सहित इंग्लिस घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् भने द हन्ड्रेड, इन्टरनेशनल लिग टी२०, भाइटालिटी ब्लास्ट, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिता खेलेको अनुभव उनीसँग छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।