Main

गण्डकी अस्पतालले फर्काइदियो बतासको अक्सिजन प्लान्ट

२६ वैशाख, पोखरा । सर्वसाधारण र व्यवसायीबाट पैसा उठाएर बतास समूहले किनेको अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले फर्काइदिएको छ ।

चाहिएको बेला जडान नभएको र अहिले आवश्यकता नै नभएको भन्दै अस्पताल प्रशासनले अक्सिजन प्लान्ट फर्काइदिएको हो । कोरोना महामारीका बेला १५ दिनमै जडान गर्ने उद्घोषसहित व्यापारिक घराना बतास समूहको सामाजिक संस्था बतास फाउन्डेसनले ३ करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ उठाएको थियो ।

आनन्दराज बतासको संयोजकत्वमा प्लान्ट जडानका निम्ति आर्थिक संकलन अभियानै चलेको थियो । कोरोना माहामारीका बेला अक्सिजनको अभावमा एकै दिन ८ जनासम्म ज्यान गुमाउनुपर्ने भयावह स्थिति बनेपछि बतास समूहले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने उद्घोषससहित पैसा संकलन अभियान चलाएको थियो ।

तर, कोरोना महामारी साम्य भइसकेपछि गत मंसिरमा मात्रै बतास फाउन्डेसनले १ ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने २ वटा प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको थियो ।

प्रतिष्ठानमा अक्सिजनको अभाव पूर्ति भइसकेकाले आवश्यक नपर्ने भन्दाभन्दै पनि बतास समूहले प्लान्ट अस्पतालकै एउटा निर्माणाधीन भवनमा राखेर फर्किएको थियो । समूहले प्रतिष्ठानलाई हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी थियो । यता, अस्पताल प्रशासनले भने अक्सिजन प्लान्ट आवश्यक नपर्ने बताउँदै आएको थियो ।

अस्पतालमा अहिले नै ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने ३ वटा प्लान्ट बनिसकेकाले थप आवश्यकता नपर्ने प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । ३ महिनासम्म अस्पतालको निर्माणाधीन भवनमै अलपत्र परेको प्लान्ट पछि बतास समूहले नै फिर्ता लगेको थियो ।

‘कोरोना माहामारीका बेला उहाँहरुले प्लान्ट ल्याउने घोषणा गरेर आर्थिक संकलन अभियान चलाउनुभयो । तर, अभावका बेला ल्याउन सक्नुभएन । अहिले अस्पतालका लागि पर्याप्त प्लान्ट छन्, त्यसैले आवश्यक पर्ने ठाउँमा दिनुस् भनेका हौं,’ निर्देशक खत्रीले भने, ‘उहाँहरुले अक्सिजन प्लान्ट दिने हो भने जडान र सञ्चालन खर्च पनि दिनुपर्ने भनेका थियौं । तर, उहाँहरुले त्यो गर्न नसक्ने बताएपछि हामीले फिर्ता लैजान भन्यौं ।’

कोरोना महामारीका बेला अक्सिजन प्लान्ट बनाउने योजना अघि सरेपछि बतास समूहले सहानूभति पनि पाएको थियो । बतास ग्रुप र दी रिभर माइनिङले ५०/५० लाख रुपैयाँ राखेर  प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्न ‘रु १ सय दान गरौं, माहामारीमा प्राण राखौं’ भन्ने अभियानै चलाएको थियो ।

सर्वसाधारणबाट पैसा उठाएर समयमै ल्याउन नसकेपछि बतास समूहको पोखरामा चर्को आलोचना भएको थियो । समूहले गत मंसिरमात्र प्लान्ट ल्याएर हस्तान्तरण गर्नुअघि नै अस्पतालले आवश्यक नपर्ने बताएको थियो । तर, प्रतिष्ठानकै लागि भनेर पैसा उठाएकाले त्यहीं दिनुपर्ने भन्दै बतासले अडान राख्दै आएको थियो ।

‘हामीले आवश्वक पर्दैन भन्दाभन्दै छोडेर गएपछि केही महिना त अलपत्रै पर्‍यो । तर, त्यसरी बेवारिसे नराख्न भनेपछि फिर्ता लैजानुभयो,’ डा. खत्रीले भने, ‘उहाँहरुले कता लैजानुभयो, थाहा छैन ।’

बतासले अक्सिजन प्लान्ट राख्ने घोषणा गरिसकेपछि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले दैनिक २०० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिदिएको थियो । त्यसभन्दा पछि निर्माणाधीन अस्पतालमा अहिले ४५० सिलिण्डर उत्पादन क्षमताको प्लान्ट छन् ।

भएका अक्सिजन प्लान्ट पनि बिग्रिन नदिनका लागि अहिले पालो गरेर चलाउने गरिएको अवस्थामा अर्को प्लान्ट थप्दा खर्च पनि बढाउने र व्यवस्थापनमा पनि समस्या हुने भएकाले फिर्ता गरिएको खत्रीको भनाइ थियो ।

बतास फान्डेसनका प्रवक्ता नारायण पौडेलले जुन अस्पतालका लागि भनेर पैसा संकलन गरी खरिद गरिएको प्लान्ट उसले चाहिँदैन भनेपछि फिर्ता ल्याइएको जानकारी दिए ।

‘भोलि पनि आउन सक्ने माहामारी र जोखिमलाई पनि बेवास्ता गर्दै अस्पतालले प्लान्ट फर्काइदियो । बिजुलीको बिल तिर्न नसक्नेजस्ता कुरा भए’, पौडेलले भने, ‘ती प्लान्टमध्ये एउटा वालिङ सामुदायिक अस्पताललाई दिइएको छ भने अर्को माग गर्ने अस्पताललाई दिने हो ।’

अक्सिजन प्लान्ट नभएका त्यस्ता कुनै अस्पताल भए सम्पर्क गर्न भनिएको पौडेलले बताए । बतास फाउन्डेसनले सरकारकै कारण समयमा ल्याएर हस्तान्तरण गर्न नसकिएको आरोप लगाए ।

वालिङमा पनि जडान हुन सकेन

समूहले एक महिनाअघि ६० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट दिएको तर प्राविधिकका कारण जडान हुन नसकेको वालिङ सामुदायिक अस्पतालका अध्यक्ष दिलिपप्रताप खाँडले जानकारी दिए । ‘१५ बेडको अस्पतालका लागि आवश्यक नै थियो । तर, प्राविधिक नआउँदा जडान हुन सकेको छैन,’ खाँडले भने ।

कोरोना संघ र प्रदेश सरकारको लगानीमा गण्डकी प्रदेशको मनाङ मुस्ताङबाहेक ९ वटै जिल्लामा अक्सिजन प्लान्ट जडान गरेको छ । जनशक्ति र त्यस्ता बिरामी पनि नआउने भन्दै तीमध्ये अहिले अधिकांश सञ्चालनमा छैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button