Main

एपीएफ अपराजित रहँदै फाइनलमा

३ जेठ काठमाडौं । नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स वुमन्स टी–२० च्याम्पियनसिप २०२४ मा अपराजित रहँदै फाइनल खेल्ने भएको छ ।

बिहीबार एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै समूह चरणमा चारै खेल जितेर फाइनलमा पुगेको हो ।

११२ रनको लक्ष्य पछ्याएको एपीएफले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफको जितमा ममता चौधरी ३४ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् ।

सरिता मगर ३० बलमा ३ चौकासहित १९, रोमा थापा २३, राजमति ऐरी ११, सीता रानामगर ५ र इन्दु बर्मा ४ रनमा आउट भइन् ।

सुदूरपश्चिमकी लक्ष्मी साउदले २, जानकी थापा, कविता जोशी, ऋतु कनौजिया, स्नेहा महरा र विन्दु रावलले १–१ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

कप्तान बिन्दु रावलले ५१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । रूवी पोद्दारले ३६ बलमा ४ चौकासहित तथा कविता जोशी २८ बलमा २ चौकासहित २९–२९ रन बनाइन् । एपीएफकी रेखा रावल र इन्दू बर्माले १–१ विकेट लिए ।

एपीएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

सुदूरपश्चिमले शुक्रबार बागमतीसँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा सुदूरपश्चिम फाइनलमा पुग्नेछ । सुदूरपश्चिम बागमतीसँग पराजित भएमा अन्य टोलीको नेट रन रेटमा भर पर्नुपर्ने हुन्छ ।

ललितपुर मेयर्स ११, ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

बागमती ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । कोशी तीन खेलमा पराजित हुँदै फाइनल दौडबाट बाहिरिसकेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button