Main

गर्भावस्थाको छैठौं महिना कस्तो हुन्छ ?

गर्भावस्थाको छैठौं महिनासम्म पुग्दा लगभग दोस्रो त्रैमासिक सकिने क्रममा हुन्छ । यही समय हो, पेट हेर्दा पनि पूर्ण रुपले गर्भवती भएको देखिन्छ । जति बच्चा बढ्छ, त्यति नै आमाको शरीरका भागहरु पनि बढ्दै जान्छन् ।

गर्भवती महिलाको पेटको चौडाइ पनि बढ्दै गएपछि शरीरमा एक किसिमको दबाब बढ्छ । जसले पेट दुख्ने, अनिद्रा, ढाड दुख्ने र पेट छिटो बढ्ने जस्ता परिवर्तनहरु हुन्छन् । तर यी समस्या दिनप्रतिदिन कम हुँदै जाने भएकाले चिन्ता लिनु भने पर्दैन । यो समयमा जति बच्चालाई पौष्टिक तत्व चाहिन्छ, त्यति शरीरमा रगतको उत्पादन पनि बढ्दै जान्छ ।

के कस्ता अन्य लक्षण देखिन्छ ?

– योनीस्राव बढ्न सक्छ । यी महिनामा बच्चाको टाउकोले पाठेघरको तल्लो भागमा दबाब दिन्छ । जसकारण स्राव बढी हुन्छ ।

– स्तनबाट पनि बाक्लो र पहेंलो रंगको स्राव हुन थाल्छ ।

– गर्भावस्थाको सबै महिनामा अपच धेरै सामान्य छ । यस समयमा पेट फुल्ने, पेट दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्याले सताउन सक्छ ।

– गर्भावस्थाको यो महिनामा खुट्टा, जाँघ र हात सुन्निन सक्छ । शरीरको कुनै अंग सुन्निनु गर्भावस्थाको सामान्य लक्षण हो ।

– गर्भवतीको समयमा पेट तथा आन्द्राको दबाब पर्न जान्छ । साथै गर्भावस्थाका बेला निस्किने प्रोजेस्टेरोन हर्मोनका कारण पनि अपचको समस्या बढ्छ ।

– यो समयमा बच्चाको विकासका लागि पोषक तत्वको अत्यधिक आवश्यक हुन्छ । यस्तोमा अत्यधिक भोक लाग्ने र पटक-पटक खान मन लाग्ने हुनसक्छ ।

– ढाड अत्यधिक दुख्ने, जुरुक्कै उठ्न र बस्न असहज हुन्छ ।

आमाको शरीरमा केकस्ता परिवर्तन देखिन्छ ?

– छैठौं महिनामा तौल तीव्र रुपमा बढ्छ ।

– गिजाबाट रगत आउने समस्या हुनसक्छ ।

– स्ट्रेच मार्क बढ्न सक्छ ।

– छाती पोल्ने समस्या हुनसक्छ ।

– हर्मोन उतरचढाव हुने हुँदा मुड परिवर्तन भइरहन सक्छ । तर पहिलाको जति उग्र रिस उठ्ने हुँदैन ।

– बच्चाले पेटमा लात हानेको अनुभव पटक-पटक भइरहन्छ ।

बच्चाको विकास

छैठौं महिनासम्म बच्चाको विकास आधाभन्दा बढी भइसकेको हुन्छ ।

– फोक्सोको विकास हुन्छ ।

– टाउकोको आकार बढ्छ ।

– बच्चाले आँखा खोल्न र बन्द गर्न सक्छ ।

– यो महिनामा बच्चाको तौल र आकार पहिलेको भन्दा बढी हुन्छ ।

– यो महिनामा गर्भेशिशुको टाउको पाठेघरको तलतिर आउँछ, जसले मूत्रथैलीमा दबाब दिन्छ । जसले गर्दा पिसाब फेरि छिटो-छिटो लाग्न थाल्छ ।

– बच्चाले पेटमा लात हान्छ ।

के परीक्षण गर्ने ?

पिसाब परीक्षण : ६ महिनामा पिसाब परीक्षण गरी प्रोटिनको स्तर जाँच गरिन्छ । यो उच्च रक्तचापको जटिलता र कुनैपनि प्रकारको पिसाबको संक्रमण पत्ता लगाउन गरिन्छ ।

मधुमेह र रक्तचाप : यही समय हो, मधुमेह बढ्न सक्ने । खानपिन र हर्मोनको उतारचढावले गर्दा हुनसक्ने मधुमेह र उच्च रक्तचापको जोखिम छ कि छैन भनेर हेरिन्छ । सुगर वा रक्तचाप उच्च देखिएको खण्डमा त्यसलाई नियन्त्रण गर्ने औषधि दिइन्छ ।

अल्ट्रासाउण्ड : बच्चाको विकासको अवस्था, सालको अवस्थिति, शिशु वरिपरिको पानी हेर्न अल्ट्रासाउण्ड गरिन्छ । बच्चाको मुटुको धड्कन पनि जाँच गर्नुपर्छ ।

कस्तो खानपिन ?

गर्भावस्थामा सन्तुलित खानेकुरा खान सकिन्छ । जसमा फलफूल, हरियो सागपात, ड्राइफ्रुट, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछामासु, प्रशस्त झोलिलो खानेकुरा र पर्याप्त पानी खान सकिन्छ । यो समयमा क्याल्सियम, आइरन र भिटामिनको सप्लिमेन्टको सेवन अनिवार्य खानुपर्छ ।

व्यायाम

यो महिनामा हल्का खालका व्यायाम गर्न उपयुक्त हुन्छ । घरवरपर  घुमफिर गर्ने, योग प्रशिक्षकको सहायतामा योग र चिकित्सक एवं फिजियोथेरापिस्टको सल्लाहमा व्यायाम गर्न सकिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button