Main

गाई,भेडा र सुँगुरमाथि कार्बन कर !

डेनमार्कले वस्तुभाउहरूले कार्बन उत्सर्जन गरेबापतको कर लगाउने ऐतिहासिक नीति लागू गर्दैछ ।

जस अनुसार गाई, भेडा तथा सुँगुरलगायतका गाईवस्तु पाल्ने किसानहरूले उनीहरूका जनावरले उत्सर्जन गरेको हरितगृह ग्यासबापत कर तिर्नुपर्नेछ ।

यो नीति सन् २०३० बाट लागू हुने बताइएको छ । कर मन्त्री जेप्पे ब्रुसका अनुसार सन् १९९० को तुलनामा सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई ७० प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्य अनुसार उक्त नीति अबलम्बन गरिएको बताएका छन् ।

सन् २०४५ सम्ममा कार्बन तटस्थ मुलुक बन्नका लागि डेनमार्कले महत्वपूर्ण कदम चाल्ने भन्दै उनले डेनमार्क कृषि क्षेत्रमा कार्वन कर लगाउने विश्वकै पहिलो मुलुक बन्न थालेको र यसको सिको अरुले पनि गर्नुपर्ने बताए ।

सुरुआतमा किसानहरूले आफ्ना वस्तुभाउले उत्सर्जन गरेको प्रतिटन कार्बन डाइअक्साइड बापत ३ सय क्रोनर अर्थात् ४३ डलर कर तिर्नुपर्नेछ। सन् २०३५ बाट त्यसलाई बढाएर ७५० क्रोनर प‍ुर्‍याइनेछ ।

यद्यपि ६० प्रतिशत आयकर घटाउँदा प्रतिटन कार्बन उत्सर्जन करको दर १२० क्रोनरबाट सुरु हुनेछ र सन् २०३५ मा ३०० क्रोनर पुग्नेछ।

हरितगृह प्रभावका लागि कार्बन डाइअक्साइडले विश्वमा सर्वाधिक ध्यानाकृष्ट गर्ने गरेको भएता पनि मिथेन ग्याँस सबैभन्दा खतरनाक हरितगृह ग्यास हो जसले २० वर्षको अवधिमा ८७ प्रतिशत धेरै ताप शोषण गरेको छ ।

गाई, भेडा तथा सुँगुर जस्ता घरपालुवा जनावरहरूले मिथेन उत्सर्जनमा उल्लेख्य भूमिका खेल्दै आएका छन् जुन कुल मिथेन उत्सर्जनको ३२ प्रतिशत हुन आउने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ ।

उता युरोपेली किसानहरूले भने यसअघि सरकारहरूले लगाएका जलवायु परिवर्तन सम्बद्ध विभिन्न नियम कानुनहरूको विरुद्धमा महिनौंसम्म प्रदर्शन गरेका थिए । त्यस्ता नियमहरूले आफूहरूको जिवन यापनलाई खतरामा पार्ने किसानहरूको भनाइ छ ।

किसानका वस्तुभाउमाथि कार्बन कर लगाउने नीति हाल डेनमार्कको संसदमा विचाराधीन छ र संसदले त्यसलाई पारित गरेसँगै सन् २०३० बाट लागू हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button