Main
गुल्मीमा आगलागीबाट ५ घरगोठ जले, टेलिकमको टावरमा क्षति

१९ वैशाख, गुल्मी । गुल्मीमा आगलागीबाट ५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
छत्रकोट गाउँपालिका वडा नम्बर ६ मोहरेको जंगलमा लागेको आगो बस्तीमा सल्किंदा ५ घरगोठका साथै पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
आगलागीबाट कमल ज्ञवालीको टिनले छाएको २ तले घर, गोठ, एउटा भैंसी र ६ बाख्रा जलेका छन् ।
त्यस्तै मोहनबहादुर सुनारको २ तले घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रमेश ज्ञवालीको गोठ जलेको छ ।
त्यस्तै मालिका गाउँपालिका वडा नम्बर ५ छापाहिले राष्ट्रिय सामुदायिक वनमा लागेको आगोले नेपाल टेलिकमको टावरमा सामान्य क्षति पुगेको छ ।
टावरमा जडान भएको सोलार प्यानल, मिटरबक्स, तार, ब्याट्रीलगायत नष्ट भएको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।