गृहमन्त्रीलाई कांग्रेसको चुनौती : तपाईंले लगाएको आरोप प्रमाणित गर्नुस्

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । साथै अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने समेत बताएको छ ।
कांग्रेसले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । आइतबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि समेत प्रश्न उठाएका थिए ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, कपोलकल्पित र हिंस्रक भएको ठहर गरेको छ ।
बैठकका निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘उहाँले आफूमाथि लागेको अभियोग/प्रश्नबाट भाग्न तथाकथित प्रश्न खडा गर्न पाइँदैन । आफूमाथि लागेको प्रश्नको जवाफ दिन जरुरी छ ।’
उनले अगाडि भने, ‘आफू शेयर सदस्यका साथै प्रबन्ध निर्देशक हुने, अनि करौडौं रुपैयाँ कहाँबाट आयो थाहा भएन भनेर भाग्न पाइन्छ ?’
कांग्रेसले आफ्ना नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न समेत चुनौती दिएको छ ।
‘उहाँले जसरी लाञ्छित गर्नुभयो, प्रश्न उठाउनुभएको छ । तपाईं छानबिन गर्नुस्, अनुसन्धान गरेर प्रमाणित गर्नुस्’ प्रमुख सचेतक लेखकले भने, ‘गम्भीर लाञ्छना लगाउनुभएको छ, प्रमाणित गर्न सक्नुभएन भने त्यो पनि भोलिको दिनमा व्यहोर्नुपर्ला ।’
सरकारमा बसेका मानिसहरुले जवाफ लिनुको साटो अरुमाथि आरोप लगाएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।