Main

गोदावरीका बाढी पीडितलाई कलाकार संघले बाँड्यो राहत सामग्री

काठमाडौं । चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । असोज दोस्रो साताको भारी वर्षाले क्षति पुर्‍याएको ललितपुरको गोदावरी नगरपालिका ३ का पीडित परिवारलाई सहयोगी हात प्रदान गरिएको हो ।

अभिनेता समेत रहेका वडाध्यक्ष राज घिमिरे, कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतका पदाधिकारीले १ लाख ४१ हजार बराबरको लत्ताकपडा वितरण गरेका हुन् । संघका महासचिव सविन श्रेष्ठको समन्वयमा अमेरिकाका शाखाले उक्त रकम संकलन गरेर पठाएको थियो ।

शाखा अध्यक्ष दिनेश कार्कीसहित सदस्य कलाकारहरु गणेश उप्रेती, राहुल केसी, गोपालचन्द्र लामिछाने, विश्व पौडेल, इन्द्र खनाल, रवि श्रेष्ठ, मोहन कार्की, कृष्ण प्रधान, अरुण कार्की, सुन्दर श्रेष्ठ, सुमन दाहाल लगायतले आर्थिक रकम संकलन गरेर नेपालमा पठाएका थिए ।

अध्यक्ष निरौला, निवर्तमान अध्यष रवीन्द्र खड्का, सचिव रामेश्वर बुर्लाकोटी, सहकोषाध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल पनि राहत वितरणमा थिए । कलाकारको अधिकारमा संघ सदैव सक्रिय रहेकाले आगामी दिनमा समेत सामाजिक कार्यमा हातेमालो गरिने अध्यक्ष निरौलाले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button