गोरखा–५ मा रास्वपाको चुनावी कमाण्डरमा पूर्वमन्त्री आचार्य
३ मंसिर, गोरखा । वडाध्यक्ष चयनका लागि उपचुनाव हुन लागेको गोरखा नगरपालिका–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले हरिशरण आचार्यलाई चुनावी कमाण्डर तोकेको छ ।
रास्वपाले गत निर्वाचनमा एमालेबाट वडा सदस्यका प्रत्यासी मंगलबहादुर थापालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । निर्वाचनमा मंगलबहादुरलाई जिताउन गण्डकी प्रदेशका तत्कालीन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री आचार्यलाई चुनावी कमाण्डर तोकेको रास्वपा गण्डकीका सभापति राजन गौतमले जानकारी दिए ।
तत्कालीन बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीबाट सांसद बनेका आचार्य ऊर्जामन्त्री पनि बनेका थिए । आचार्य २०७९ को आमचुनावअघि नै रास्वपा प्रवेश गरेका थिए ।
एमालेले जिल्ला अध्यक्ष सुरेन्द्र थापालाई निर्वाचन परिचालन कमिटी संयोजक बनाएको छ । गत कात्तिक २१ गते बसेको पार्टी सचिवालय बैठकले थापा संयोजकत्वको निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको हो । एमालेले यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाकी श्रीमती दुर्गा माया थापा रानालाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले रामशरण बानियाँलाई चुनाव परिचालन समिति संयोजक तोकेको छ । पार्टी सल्लाहकार समेत रहेका बानियालाई केही दिनअघि पार्टीले संयोजक बनाउने निर्णय गरेको हो । चुनावको लागि पार्टीको तर्फबाट उम्मेदवार बन्नेमा उनको नाम पनि चर्चामा थियो । तर रानाले टिकट पाएपछि उनलाई चुनाव परिचालन समिति संयोजक बनाइएको हो ।
नेपाली कांग्रेसले राजनराज पन्तलाई निर्वाचन परिचालन समिति संयोजक तोकेको छ । पार्टी जिल्ला सदस्य एवं महासमिति सदस्य समेत रहेका पन्त गोरखा नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । केही दिनअघि बसेको पार्टी जिल्ला पदाधिकारी बैठकले उनलाई निर्वाचन परिचालन समिति संयोजक बनाउने निर्णय गरेको हो ।
नेपाल समाजवादी पार्टीले नारायण खत्रीलाई निर्वाचन परिचालन समिति संयोजक तोकेको छ । सोमबार बसेको पार्टीको जिल्ला समन्वय समिति बैठकले उनलाई संयोजक तोक्ने निर्णय गरेको हो । खत्री पार्टीको राष्ट्रिय भेला आयोजक समिति सदस्य हुन् ।
मनोनयन दर्ता गरएका अन्य दलहरुले पनि निर्वाचन परिचालन समिति संयोजक तोकिसकिएको जनाएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कुल दश जनाले उम्मेदवारी दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।