Main

घट्दै उपभोक्ता, बढेन आयात

७ कात्तिक, काठमाडौं । सामान्यतया बढी वस्तु खपत हुने चाडबाड मुखमा वस्तु आयात बढ्नु विगतदेखिको प्रवृत्ति हो । तर, कोभिड महामारीयता यो प्रवृत्तिमा सुधार हुन सकेको छैन ।

यस्तै प्रवृत्ति यसपालि चाडबाड मुखमा समेत देखिएको छ । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ ।

असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा कुल वस्तु आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको मात्र भएको छ । यो अघिल्लो आव यसै महिनासम्मको तुलनामा ४.१७ प्रतिशत कम हो ।

वाणिज्यविद पुरुषोत्तम ओझा चाडबाडको मुखमा आयातमा उत्साह नदेखिनुका दुई कारण रहेको बताउँछन् । पहिलो, मुलुकभित्र आन्तरिक माग कम भयो, उपभोक्ता विदेशिए । दोस्रो, मानिसको आम्दानी नबढ्दा पुरानै सामानबाट काम चलाऔं भन्ने प्रवृत्ति ।

‘चाडबाडमा आयात बढ्ने प्रवृत्ति हो, घट्नुमा उपभोक्ता नै नेपालबाट पलायन बढी हुनु एक कारण हो,’ उनी भन्छन्, ‘अर्को कारण उपभोक्ताको आम्दानी नबढ्नु नै हो ।’

असोजमा मात्र ५३ हजार ५ सय २५ नेपाली कामको खोजीमा विदेशिएका थिए । भदौमा यो संख्या ५० हजार ७ सय ७० थियो । साउनमा भने ५९ हजार ५ सय ७५ नेपाली रोजगारीका लागि विदेशिएका थिए ।

अत्यावश्यक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको छ । यसले मानिसको बढी खर्च त्यस्ता वस्तुको जोहोमा भइरहेको छ । साथै, शिक्षा–स्वास्थ्यमा समेत अत्यधिक खर्च हुन थालेसँगै उपभोक्ताले अब मन खोलेर खर्च गर्न नसकिरहेको विज्ञ बताउँछन् ।

यस वर्ष साउनमा १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । भदौमा केही बढेर १ खर्ब ३४ अर्ब रुपैयाँसम्म पुग्यो । असोजमा सामानको आयात घट्न गयो । जुन १ खर्ब २८ अर्बमा सीमित भयो । यसो हुनुमा असोज दोस्रो साता आएको वर्षा र बाढीपहिरोको समेत हात रहेको व्यापारी बताउँछन् ।

खासगरी चीनतर्फका धेरै सामान बाटोमा रोकिए । जुन चाडबाड लक्षित गरी मगाइएको थियो । यसको असर आयात तथ्यांकमा केही हदसम्म देखिएको छ । यद्यपि, भारततर्फको व्यापार भने बाढीपहिरोले प्रभावित हुन पाएको थिएन ।

भन्सार विभागका अनुसार यस वर्ष पहिलो त्रैमासमा आयातमात्र होइन, निर्यात अझ कमजोर बनेको छ । तीन महिनामा ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.११ प्रतिशत कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवैमा आएको कमीले कुल वैदेशिक व्यापारको आकार नै खुम्चिएको छ । भन्सार विभागका अनुसार असोजसम्म कुल ४ खर्ब २९ अर्ब १३ करोडको कुल वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो आवको तुलनामा ४.३५ प्रतिशतले कम हो । गत आवको तीन महिनामा ४ खर्ब ४८ अर्ब रुपैयाँ बराबर कुल वैदेशिक व्यापार भएको थियो ।

चालु आव पहिलो तीन महिनामा व्यापार घाटा भने ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबर भएको छ । व्यापार घाटा ३.९६ प्रतिशतले कम भएको देखिन्छ । यसो हुनुमा निर्यात बढ्दा व्यापार घाटामा सुधार आएको भने होइन, आयात कम हुँदा व्यापार घाटा समेत कम भएको विभागको तथ्यांकमा देखिन्छ ।

अहिले नेपालको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.०६ र निर्यात हिस्सा ८.९४ प्रतिशत छ ।

पेट्रोलियम पदार्थ आयातमा विदेशियो ६७ अर्ब

पहिलो तीन महिनामा पेट्रोलियम पदार्थ (इन्धन) आयातमै ६६ अर्ब ९१ करोड रुपैयाँ विदेशिएको छ । यस अवधिमा आइरन र स्टिल आयातमा ३३ अर्ब ११ करोड विदेशिएको विभागको तथ्यांक छ ।

नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको मात्र आयात पनि थेग्न नसक्ने अवस्था छ । यस अवधिमा २५ अर्ब २३ करोड रुपैयाँ बराबर सवारीसाधन आयात भएको छ । विद्युतीय सामान र उपकरण आयातका लागि २७ अर्ब ५८ करोड विदेशिएको छ ।

त्यस्तै १० अर्ब २० करोड बराबर औषधिजन्य सामग्री नेपाल भित्रिएको छ । नेपालले १ सय ३२ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा सबैभन्दा धेरै भारतसँग छ ।

भारतबाट तीन महिनामा २ खर्ब ४० अर्ब रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट २४ अर्ब ८५ करोड बराबरको सामान भारत गएको छ । चीनबाट ७८ अर्ब ६३ करोड रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट ५५ करोड रुपैयाँको मात्र सामान चीन गएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button