Main

घरेलु श्रमिक र भिजिट भिसामा गएकालाई विदेशबाटै श्रम स्वीकृति

२६ कात्तिक, काठमाडौं। सरकारले गत सेप्टेम्बर महिनासम्म अवैध रुपमा विदेश पुगेकाहरुलाई विदेशस्थित नेपाली दूतावास र तथा नियोगबाटै श्रम स्वीकृति दिने निर्णय गरेको छ। अब भिजिट भिसामा गन्तव्य मुलुकमा पुगेर काम गरिहेका श्रमिक र घरेलु महिला श्रमिकले पनि विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति पाउनेछन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्‍य देशमा वैधानिक रुपमा काम गरिरहेका श्रमिकलाई नेपाल सरकारले अवैध बनाइराखनु उचित नहुने भएकाले विदेशबाटै वैधानिक हुन श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको बताए ।

‘बायोमेट्रिक नभएका श्रमिकलाई श्रम स्वीकृति दिन नमिल्ने भएपछि दूतावासहरुमा त्यसको व्यवस्था गर्दैछौं,’ उनले भने,‘राष्ट्रिय परिचयपत्र र पासपोर्टको प्रणालीको बायोमेट्रिकका आधारमा नै श्रम स्वीकृति दिन सकिन्छ की भनेर प्राविधिक तयारी हुँदैछ।’

अहिले कति नेपाली नागरिक श्रम स्वीकृति नलिई कामका लागि विदेश पुगेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । विभिन्न माध्यमबाट दलालहरुको फन्दामा परेर विदेश पुगेका र घरेलु श्रमिकलाई श्रम स्वीकृति व्यवसथा नभएकाले विभिन्न बाटोबाट विदेश पुगेका घरेलु श्रमिकहरुले सरकारको यो निर्णयबाट लाभ उठाउनेछन् ।

नेपालबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर श्रम भिसा लिंदै काम गर्नेहरुको संख्या ठूलो छ । उनीहरु श्रम स्वीकृति नलिई गएकाले विद्यमान कानुनअनुसार उनीहरु अवैध श्रमिक हुन् ।

मलेसिया, साउदी अरब, कुवेत, ओमान लगायतका देशमा पनि विभिन्न तरिकाबाट अवैध रुपमा पुगेर काम गरिरहेकाहरु छन् । युरोपका विभिन्न गन्तव्‍य मुलकुमा समेत श्रम स्वीकृति नलिई जानेको संख्या ठूलो छ ।

मन्त्री भण्डारीका अनुसार घरेलु श्रमिक श्रमिकहरु गन्तब्य देशबाट विदामा नेपालमा आएर पुनः पुरानै काममा फर्किन सकस भोगिरहेकाले उनीहरुलाई पनि लक्षित गरेर श्रम स्वीकृति दिने निणर्एय भएको हो । ‘उनीहरु फर्किन नपाइने डरले नेपाल नै आउन पाएनन्,’ उनले भने,‘यस्तो समस्या समाधान गरेर सबै श्रमिकलाई वैधानिक हुन अवसर दिएका हौं ।’

कानून अनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बीमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् भने श्रमिकको मृत्यु भएका परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति र १४ लाखको बीमा रकम पाउँछन् ।

विदेशबाट श्रम स्वीकृति लिनेहरुले पनि यस्तो सुविधा पाउनेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button