Main

राष्ट्र बैंकले गर्‍यो आयात सहजीकरण, चाँदी आयातको सीमा बढ्यो

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत बाहेक तेस्रो मुलुकबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने गरी ‘डकुमेन्ट एगेन्स्ट पेमेन्ट’ (डीएपी) र ‘डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स’ (डीएए) को माध्यमबाट हुने आयातको सीमा बढाएको छ ।

राष्ट्र बैंकले विदेशीय विनिमय कारोबार सम्बन्धमा जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा डीएपी र डीएए मार्फत् आयात गर्ने सीमा ६० हजार अमेरिकी डलरबाट बढाएर १ लाख अमेरिकी डलर पुर्‍याएको छ ।

यस्तै ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा समेत राष्ट्र बैंकले बढाएको छ ।

मौद्रिक नीतिको घोषणा अनुसार विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै प्रतिपत्रबिना ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा ३५ हजार अमेरिकी डलरबाट ५० हजार अमेरिकी डलर पुर्‍याएको हो ।

यस्तै राष्ट्र बैंकले व्यवसायीलाई बैंकबाट चाँदी खरिद गर्दा १ किलोको कोटा हटाएको छ ।

सुनचाँदीको कारोबारमा संलग्न व्यवसायीले गरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट १ लाख अमेरिकी डलर मूल्यसम्मको चाँदी खरिद गर्न सक्ने भएका हुन् ।

व्यवसायी आफैंले चाँदी आयात गर्दा दिने सटही सुविधा समेत बढेको छ ।

एक पटमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्रदान हुँदै आएकोमा त्यसको सीमा बढाएको हो ।

अब सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा बैंकहरूले प्रति पटक तीन लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् ।

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई चाँदी आयातमा भुक्तानी सीमा लागु हुने छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button