चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली ईभी क्षेत्र रूपान्तरण गर्ने ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ सार्वजनिक गरेको छ ।
यसको ट्यागलाइन ‘टच द फ्युचर’ ले सुझाए जस्तै दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’ मा केसम्म सम्भव छ भन्ने देखाउने छ ।
१ सय ६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सबब्रान्ड दिपलले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’ को विकास र उत्पादन गर्छ ।
नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरेको यो ‘इन्टिलिजेन्ट इलेक्ट्रिक’ एसयूभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डेपुटी जनरल म्यानेजर गुआनसिन, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरे । दिपल एस०७ सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रीडी म्यापिङ प्रोजेक्सन’ गरी गरिएको हो ।
१५ भन्दाबढी ‘फस्र्ट टाइम इन नेपाल’ फिचर
दिपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ र यसले सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ ।
अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् ।
संगीत, फोन कल र फोटो खिच्ने लगायत फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ का माध्यमबाट हातको संकेतले कमान्ड लिन सक्छ । साथै, यसमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ (एआर एचयूडी) छ । यसले ‘रियल टाइम नेभिगेसन’ लगायत महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहजमात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ ।
साथै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ छ, जुन टचस्क्रिन ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्किन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसन आफैं मिलाइदिन्छ ।
दिपलमा पछाडिमात्र होइन, अगाडि बोनेटमा पनि सामान राख्न १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस छ । यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षकमात्र बनाउँदैन, यसको पर्फर्मेन्समा पनि सुधार ल्याउँछ ।
त्यस्तै नेपालमै पहिलो पटक दिपल एस०७ मा अन्य कुनै पनि ईभीमा नभएको चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ, जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ ।
दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ ले यो ई–एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ बलियो बनाएको छ । साथै, यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।
कारभित्रको वातावरण ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट शो’ जस्ता ‘इन्टिलिजेन्ट सिनारियो मोड’ छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एडजस्ट’ गर्न मिल्ने र ‘सनसेड’ खोल्न र बन्द गर्न सकिने टचस्क्रिन छ ।
सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टर्याक्टिभ एडप्टिभ क्रुज कन्ट्रोल’ सहित ‘इन्टिलिजेन्ट एडास २.५’, ६ वटा एयरब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्ट्यान्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहित ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्र्याक्स वार्निङ’ लगायत फिचर छ ।
इलेक्ट्रिक मोबिलिटीमा नयाँ अध्याय
दिपल एस०७ सार्वजनिकीकरण कार्यक्रममा एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दिपल एस०७ एउटा ईभीमात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य कस्तो हुन सक्छ भन्ने दृष्टान्त भएको बताए ।
‘हामीलाई गर्व छ, हामीले पर्फर्मेन्स र लक्जरीको सीमा फराकिलो पार्ने मात्र होइन, नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टिलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौं,’ उनले भने ।
त्यसैगरी चांगान अटोका डेपुटी जनरल म्यानेजर गुआन सिनले चांगानका लागि नेपाली बजार महत्वपूर्ण र भरपर्दो भएको बताए ।
‘हामी नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडी ल्याउने लक्ष्य लिएका छौं । साथै, ग्राहकको अनुभव र बिक्रीपछिको सेवालाई पनि हामीलृ उत्तिकै महत्त्व दिएका छौं किनभने चांगानको पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो,’ उनले भने ।
नेपालमा दिपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो ६ आकर्षक रङमा उपलब्ध हुनेछ ।
चांगान सन् १८६२ मा स्थापना भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल उत्पादक हो जससँग ४० वर्षको कार निर्माणको अनुभव छ ।
चांगानले हरेक वर्ष आफ्नो आम्दानीको ५ प्रतिशत शोध तथा विकासमा खर्च गर्छ र यो आँकडा ७ अर्ब अमेरिकी डलर हुन आउँछ ।
चांगानले २ हजार ९ सय १८ इनोभेसन पेटेन्टसहित १० हजार ३ सय ११ पेटेन्ट दर्ता गरेको छ । सन् २०२३ मा उसले हरेक दिन सरदर २२ पेटेन्ट दर्ता गरेको थियो ।
चांगानले दिपल र अवतार जस्ता ब्रान्डका लागि ‘टेक्नोलोजी जायन्ट’ ह्वावे, विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता ‘सीएटीएल’ र ‘टेन्सेन्ट’ (विच्याट) सँग सहकार्य गर्दै आएको छ ।
हाल चांगानको ६३ देशमा २२ कारखाना र ६३ हजार ग्लोबल डिलर छन् । चांगान दुई दशकदेखि चीनको ‘टप ३ अटो मेकर’ का रूपमा रहँदै आएको छ र यसले विश्वभरि २ करोड ४० लाख गाडी उत्पादन र बिक्री गरिसकेको छ । यसका चार देशमा डिजाइन सेन्टर छन्, जहाँ ६ सय ग्लोबल डिजाइनरले कार डिजाइन गर्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।