एकैदिन ४ निकायका २२२ कर्मचारी छड्केमा, सामान्य प्रशासनकै १३३ जना परे

११ माघ, काठमाडौं । ४ वटा निकायमा भएको अनुगमनमा एकैदिन २२२ कर्मचारी छड्केमा परेका छन् । बिहीबार राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित शहरी विकास तथा भवन निर्माण विभाग र पुरातत्व विभागमा छड्के गरेको थियो ।
सबैभन्दा बढी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका १३३ जना छड्केमा परेका छन् । कर्मचारीहरुको नियमन र व्यवस्थापन गर्ने मन्त्रालयकै कर्मचारीहरुले तोकिएको नियम पालना नगरिरहेको खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका ५८, शहरी विभागका १८ र पुरातत्व विभागका १३ जना कर्मचारी छड्केमा परेका हुन् । त्यसक्रममा ७१ जना कर्मचारी तोकिएको समयभन्दा ढिलो कार्यालय आएको भेटिएको उपसचिव हिरामणि सुवेदीले जानकारी दिए । त्यसैगरी ७८ जना कर्मचारी अनुपस्थित रहेको, ५३ जना कार्यकक्षमा नभेटिएको र २० जनाले तोकिएको पोशाक नलगाएको पाइएको सुवेदीले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संघीय मामिला मन्त्रालयका ४८ कर्मचारी सिट छड्केमा परेका छन् भने ४२ जना अनुपस्थित, २५ जना ढिलो कार्यालय आएको र १८ जनाले तोकिएको पोशाक नलगाएको पाइएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ३६ जना कर्मचारी अनुपस्थित भेटिए भने ५ जना सीट छड्के र १७ जना समयमै कार्यालयमा उपस्थित नभएको पाइएको थियो ।
शहरी विभागका १८ जना कर्मचारी ढिला कार्यालय आएको पाइएको थियो । पुरातत्व विभागमा ११ जना ढिला कार्यालय आएको र २ जनाले पोशाक नलगाएको भटिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।