Main

चितवन राष्ट्रिय निकुञ्जले वितरण गर्‍यो वन्यजन्तुले गरेको क्षतिको राहात

२ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली जनावरले गरेको जनधनको क्षतिको क्षतिपूर्ति रकम वितरण गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १ करोड ३३ लाख ९४ हजार ६ सय ९ रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिएको हो ।

निकुञ्जको वरपरको मध्यवर्ती क्षेत्रमा बन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवार, घाइतेहरुको उपचार तथा बालीनालीमा भएको क्षतिको रकम पीडित परिवारलाई दिइएको हो ।

अघिल्लो वर्ष र चालु आर्थिक बर्षमा वन्यजन्तुबाट भएको क्षतिको रकम नियमानुसार प्रदान गरिएको सूचना अधिकारी तिवारीले बताए ।

वन्यजन्तको आक्रमणबाट मृत्यु भएका ७ जनाको परिवारलाई जनही १० लाखको दरले ७० लाख, सामान्य घाइते १५ जनाको उपचारका लागि १ लाख ५७ हजार ३ सय ४२, सख्त घाइते १२ जनाको उपचार खर्च १९ लाख ६६ हजार ४ सय ३२, १४२ पशुधनको क्षतिको रकम २० लाख ९५ हजार २ सय १०, घरगोठ क्षति, अन्नबाली क्षति लगायतका शीर्षकमा मूल्याङ्कन गरेर रकम प्रदान गरिएको हो ।

निकुञ्जका जंगली जनावरहरु हात्ती, गैंडा, बाघ, भालु, चितुवा, जंगली बँदेल, मगर गोही, अजिंगर, गौरी गाई लगायतले निकुञ्ज बाहिर निस्केर जनधनको क्षति पुर्‍याएका थिए ।

निकुञ्जले हरेक वर्ष जंगली जनावर भएको क्षतिको क्षतिपूर्ति रकम दिँदै आएको छ । वन्यजन्तुले गरेको क्षतिको तुलनामा राहात रकम अति नै कम भएको भनेर निकुञ्ज आसपासका जनताले असन्तुष्टि पोख्दै आएका छन् ।

क्षतिको मूल्याङ्कन रकम निकै कम भएको तथा क्षतिपूर्ति रकम लिन निकै झन्झटिलो र लामो प्रक्रिया भएकोले वन्यजन्तु र मानव बीचको द्वन्द्व बढ्ने गरेको स्थानीयहरु बताउँछन् ।

निकुञ्जको कोर क्षेत्रभित्र कुनै जनावरको आक्रमणबाट भएको क्षतिको भने निकुञ्जले क्षतिपूर्ति दिने गर्दैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button