Main

चिनियाँ राजदूतले चुम्बक खोज भनेकामा कांग्रेस सांसदको आपत्ति

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

२८ असारमा चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्टाटस लेखेका थिए ।

मंगलबार कांग्रेस सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कुटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको बताए ।

‘सर्च गर्ने टोलीलाई गुडलक अल द सर्च टिम भनेर ट्वीटर (हाल एक्स) मा लेख्ने गरिएको छ । बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसे कम नेपाललाई आपत पर्दा सहयोग गरौं, मानवीय संवेदननाबारे बोलौं, अप्ठेरो परेका बेला हाँसीमजाकमा नउडाऔं भनेर अनुरोध गर्न चाहन्छु’, सांसद खतिवडाले भने ।

उनले यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग स्पष्टीकरण लिनुपर्ने पनि बताए । मुग्लिन नारायणगढ सडकको सिमलतालबाट २८ असारको राति लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशुलीमा खसेको थियो ।

बस खोज्न भारतबाट समेत गोताखोरहरु मगाइएको थियो । भारतीय गोताखोरले चुम्बकको सहायताले बस खोज्ने क्रममा चुम्बक नै हराएको थियो । सोही विषयमा टिप्पणी गर्दै चिनियाँ राजदूत सोङले चुम्बक खोजौं भन्ने स्टाटस लेखेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button