चुनाव हारेकाहरु राष्ट्रिय सभामा उम्मेदवार भए : रवि लामिछाने

२४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०७९ को प्रतिनिधि सभाको चुनाव हारेका र विगतमा पटक पटक अवसर पाएकाहरुले राष्ट्रिय सभाको उम्मेदवार हुने अवसर पाएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपालले हाल अवलम्बन गरेको व्यवस्था बेठीक नरहेको तर, व्यवस्था संचालन गर्नेहरुले व्यवस्था नै हाइज्याक गरेको आरोप लगाए । त्यसको प्रमाण राष्ट्रिय सभाको चुनावमा उम्मेदवार भएकाहरु रहेको उनको भनाइ छ ।
‘म नाम लिएर र भन्दिन । तर, चुनाव हारेका मान्छेहरु ठाँटले राष्ट्रिय सभामा उम्मेदवार भएका छन्’ उनले थपे, ‘चुनाव हारेकालाई त्यही कार्यकालमा राष्ट्रिय सभामा ल्याउन खोज्नुको कारण छ ।’ तर, कारणको विस्तृत ब्याख्या नगरेका उनले नेतृत्वले जे गरे पनि ठीक भनेर हिड्नुपर्ने बाध्यतामा स्वयम सांसदहरु रहेको भनी ब्यङ्ग्य गरे । ‘मुटुमाथी ढुंगा राखेर यहाँहरु (अन्य दलका सांसदहरु) लाई हाँस्नु परेको छ’ रास्वपा सभापति लामिछानेले भने ।
सम्बन्धित राजनीतिक दलले पार्टीको विधानमा प्रतिनिधि सभाको चुनाव हारेको कार्यकालभर राष्ट्रिय सभाको उम्मेदवार हुन नसक्ने भनी लेखेको भए अवस्था फरक रहने र त्यसले सकारात्मक सन्देश प्रवाह गर्न सक्ने उनको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।