विदेशमा आर्जन गरेको ज्ञान, सिप र प्रविधि नेपालमा भित्राउनुपर्छ : उपाध्यक्ष बस्नेत

सिड्नी । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाली युवाहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजी नेपालको विकासमा लगाउनुपर्ने बताएका छन् । त्यसका लागि सरकारले उपयुक्त वातावरण समेत बनाउनुपर्ने उनको भनाइ छ ।
अष्ट्रेलियाको सिड्नीमा नेपाली जनप्रगतिशील मञ्चद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष बस्नेतले भने, ‘अष्ट्रेलियाको विकास, समृद्धि र विधिको शासनवाट हामीले धेरै सिक्न सक्छौं । यहाँबाट सिकेका ज्ञान र आर्जन गरेको पुँजी नेपालमा लगानी गर्ने उपयुक्त वातावरण नेपाल सरकारले बनाउनुपर्दछ ।’
नेपाली युवाहरुलाई मुलुक भित्रै भरोसा र भविष्य देख्ने वातावरण नबनाउँदासम्म केवल आह्वान गरेर मात्र युवालाई स्वदेशमा रोक्न नसकिने बस्नेतले जिकिर गरे । बस्नेतले भने, ‘संविधानले ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्यवन नगरेसम्म युवालाई रोक्न सकिंदैन ।’
कार्यक्रममा सत्तारुढ माओवादी केन्द्रका प्रवास समन्वय समितिका सचिव टीबी पाठक, आसियानाका संयोजक शेषमणी शर्मा, नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाका अध्यक्ष प्रविन कँडेल लगायत सहभागी थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।